विविधा » लेख/फीचर/समीक्षा


 

सत्यसम्म पुग्ने कुनै बाटो छैन


बसन्त महर्जन
October 6, 2013, Sunday

‘ट्रूथ इज अ पथलेस ल्याण्ड’ अर्थात् सत्यसम्म पुग्ने कुनै बाटो छैन । सत्यसम्म पुग्ने भनिएका विभिन्न नाउँका बाटोहरुलाई एउटा नकारात्मक जवाफ हो यो स्टेटमेन्ट । यही स्टेटमेन्टका कारण आध्यात्मिक बजारका खुँखार व्यापारीहरुले भन्न थाले– जे.कृष्णमूर्ति भन्ने त एउटा खतरनाक मान्छे हो । 

जे. कृष्णमूर्ति !

उनी एउटा हलचल हुन्, खलबल हुन् । उनका शिक्षा र सम्वन्धमा विश्वका विभिन्न प्रतिष्ठित र विशिष्टतम पत्रपत्रिकाहरुमा बेलाबेखत प्रकाशित भइराख्छन् । विशिष्ट साहित्यकार, पत्रकार, कलाकार, डाक्टर, इन्जिनियर वैज्ञानिकहरुदेखि साधारणभन्दा साधारण व्यक्तिहरुले पनि उनलाई पढिराखेका छन् । आफ्ना पुस्तक पढेर पाठकले बुझेपछि त्यो पुस्तक च्यातेर फालिदिए पनि हुन्छ भनेकाले नै होला, उनको पुस्तकका पछाडि नलाग्नेहरू यहाँ पाइन थालेका छन् । 

‘‘क्षमा गर्नु होला सज्जनवृन्द, मेरो पासपोर्ट भारतीय भए पनि म भारतीय होइन ।’’, उनले एकपल्ट भनेका थिए । प्रचलित भाषाले जे. कृष्णमूर्ति भारतको एक नागरिक हुन् । उनको जन्म भारतको मद्रास शहरमा एउटा ब्राम्हणको घरमा भएको थियो । तर उनी कुनै राष्टको नागरिकको रुपमा बाँचेनन् । उनका अनुसार राष्ट्र–राष्ट्रियता भन्ने कुरालाई मान्छेको स्वतन्त्रतामा तरागो भनिंदा केही फरक पर्दैन । 

हामी एउटा नीति, आचार, सिद्धान्त र निर्देशनमा अभ्यष्त छौं । कुनै एउटा आस्थालाई आफ्नो आधार बनाएर अर्को आस्थाप्रति अनास्थामा बृद्धि गर्नुलाई नै बुद्धिमान ठान्छौं । राम जन्मभूमि, बावरी मस्जिद भड्काउने अथावा पुनः निर्माण गर्नुमा नै गौरव मानिराखेका हामीले बुझ्नै सकिराखेका छैंनौं– यी सबै कुरा के कारणले भइराखेका हुन् ? बाबरी मस्जीद भड्काउनै पर्ने अथवा यथास्थितिमै राख्नु पर्ने किन ? यी सबै एउटा एउटा आस्थाको उपज हो । अनि आस्थाको उपज भन्ने कुरा अर्थहीन छ । यो अर्थहीन कुरा हामी देख्दैनौं । जाति, भाषा, धर्म, राष्ट्र, राष्ट्रियता, इष्र्या, द्वेष मोह सबै अर्थहीन कुरा हो । यी कुराहरु विचार नगरी पूर्वाग्रही नभई हेर्दा अर्थहीन देखिनु र एकै पल्ट हामी परिवर्तन हुने कुरा नै उनका पुस्तकहरुको निचोड अथवा सारसंक्षेप पो हो कि भन्ने लाग्छ । उनी एउटा सत्यान्वेषक हुन् । सत्यान्वेषकको योग्यता बारे उनी भन्छन्– सत्यान्वेषणको निम्ति ती सबै कुराहरु अस्वीकार गर्नु पर्दछ जुन कुरा अरुले पहिल्यै भनिसकेका हुन्छन् । 

एउटा पापी मान्छे सन्त हुन गए ऊ एउटा भ्रमबाट अर्को भ्रममा स्थानान्रण मात्र भएको हो भन्ने जे. कृष्णमूर्तिको आँखामा चर्च, विहार, मन्दिर, मस्जिदजस्ता संगठनहरु मनोरञ्जन र सुरक्षाका अखडा मात्र हुन् । उनका अनुसार सबै ईश्वर, सबै विचारधारा आन्तरिक सुरक्षाका खोजका उपजहरु हुन् । सुरक्षाको कारण भय हो भनेर हामी सबै बुझ्छौं । त्यसैले जे कृष्णमूर्ति भन्छन्– भय एउटा आदत हो, यसबाट मुक्त हुनुपर्छ । 

प्रेमको परिभाषा धेरै भइसक्यो । सबैभन्दा बढी परिभाषित शब्द संभवतः प्रेम नै होला । यो स्वाभाविक पनि छ किनभने जानीनजानी मान्छेहरु प्रेमका निम्ति बाँचिरहेका छन् । कसैलाई प्रेमको अनुभव भएको भए उसको जीवन स्वर्णिम हुन्छ होइन भने व्याकुलता र रुघ्णतामात्रै । प्रेमका निम्ति हामी बाँचिरहेका हौं । हिजो यो प्राप्त भएन, त्यसैले आज बाँचिरह्यौं, एउटा आशा लिई । आज पनि प्राप्त भएन, तर प्राप्त हुने आशा छ, एउटा झलकको उपस्थिति छ । आज प्राप्त नभए भोलि होला कि भन्ने आशाले पनि हामीलाई जीवित राखेको हो । होइन भने कुनै जमानामा नै हामीले सामूहिक आत्महत्या गरिसक्थ्यौं होला । प्रेमका निम्ति हामीले श्रीमान श्रीमतीको साइनो बनाएका छौं । यस्तै साइनोहरुको सम्वन्ध स्थापित गरेर हामी सम्वन्धका कैदी भइराखेका छांै. । तर जे कृष्णमूर्ति भने विना स्वतन्त्रता प्रेम गर्न नसकिने कुरा गर्छन् । उनी भन्छन्– कसैले कसैलाई प्रेम दिन सक्दैन । स्वतन्त्रता एउटा त्यस्तो कुरा हो जुन त्यति बेला मात्रै उपलब्ध हुन्छ जुन बेला तपाई त्यसलाई खोजिराखेको हुन्न । त्यो त्यति बेला प्रकट हुन्छ जति बेला थाहा पाउँछ कि आफू एक बन्दी हुँ । 

बाँच्नलाई नबोली बोल्नलाई बाँच्ने जे. कृष्णमूर्तिको मृत्यु सन् १९८६ मा भएको थियो । 

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्