संस्कृति » लेख/फीचर/समीक्षा


 

के हो नेपाल सम्वत, को हुन् शंखधर साख्वाः


बसन्त महर्जन
November 1, 2013, Friday

नेपाल सम्वतको सुरुवात कसरी भयो भन्ने सन्दर्भमा एक प्रकारको तिलस्मी कथा पाइन्छ । बालुवा सुनमा परिणत भएको र त्यो सुनबाट शंखधरले देशवासीको ऋण तिरेर ऋणमुक्त पार्नुका साथै नेपालसम्वत स्थापना गरेको कथा रोचक त छ तर बौद्धिक एवं प्राज्ञिक बहसको विषयवस्तु होइन ।

बालुवा सुन हुने कथा वास्तवमा भाषावंशावलीमा उल्लेखित एउटा कथा हो । नेपालमा प्राप्त सबभन्दा पुरानो वंशावलीका रुपमा गोपालराजवंशावलीलाई लिइन्छ तर यसमा यो कथा पाइन्न । यो कथा भाषावंशावलीहरुमा आएको छ अर्थात नेपालसम्वत सुरु भएको आठ नौ सयवर्षपछि मात्रै बालुवा सुनमा परिणत हुने कथाको विकास भएको देखिन्छ । तर यही कथालाई नेपालसम्वतको इतिहास मान्नेहरु पनि नभएका होइनन् । कथामा वास्तवविकता नभएपनि नेपालसम्वत यथार्थ हो । यस अवस्थामा इतिहास अध्ययन गर्नु नितान्त आवश्यक हुन्छ । तर तत्कालिन समयावधीे इतिहासमा अन्धकार युगका रुपमा चित्रण गर्न सकिन्छ किनभने इतिहासका श्रोतहरु कमैमात्र प्राप्त छन् । पूर्ववर्ती इतिहास अध्ययनका लागि प्रसस्त श्रोतसामग्री प्राप्त हुनु तर यसै समयावधीका श्रोतसामग्रीहरु मात्रै नपाइनु अध्येताहरुका लागि रोचक र चुनौती हो । इतिहासमा नेपाल प्रारम्भदेखि नै गणतान्त्रिक भएको, प्रथम राजा वृषदेव (राजा मानदेवका जिजुवाजे) बाट राजतन्त्र सुरु भएको तथा त्यो राजतन्त्रलाई ध्वस्त गरी गणतन्त्रात्मक राज्यव्यवस्था स्थापनासँगै नेपाल सम्वतको पनि सुरुवात भएको भन्ने व्यहोराको एक लेख हसना म्यागेजिनमा तथा शाहवंशीय राजतन्त्रको पतनपश्चात गोरखापत्र दैनिकमा पुनः प्रकाशित भएको थियो । सोही लेखमा नेपालसम्वतको प्रसंगमा उल्लेखित कुराहरुलाई पुनः उद्घृत गर्दै यहाँ यस बारेमा चर्चा गरिन्छ ।

मानदेवपछिका राजाहरु प्रभावशाली थिएनन् । राजगद्दीमा लिच्छविराजा शिवदेव हुँदाहुँदै राज्यशक्तिमा अंशुवर्मा उदाउनु, द्वैध शासन चल्नु र महाराजधिराज नै हुनु यसको उदाहरण हो । अंशुवर्माले राज्यको उत्तराधिकारी रोलक्रमअनुसार नै शिवदेवका छोरा उदयदेवलाई नै अगाडि सारेपनि उनी लामो समयसम्म राजगद्दीमा बस्न सकेनन्, फलतः भागेर तिब्बत पुग्नु प¥यो । उनका छोरा नरेन्द्रदेवले तिब्बतको सहायताले नेपालमा पुनः राज्यसत्ता प्राप्त त गरे तर त्यसबापत नेपाललाई तिब्बतको प्रभावबाट मुक्त राख्न सकेनन् । नेपालका इतिहासकारहरुले अस्वीकार गरेपनि इतिहास अध्येता सिल्भा लेभीको कुनै बेला नेपाल तिब्बतको अधिनमा परेकोभन्ने भनाईको पुष्टि हुन आउँछ । तिब्वतको प्रभावलाई लेभीले अधिनको रुपमा देखे, फरक यति हो । यिनै विद्वानकाअनुसार नेपाल तिब्बतबाट मुक्त भएको उपलक्ष्यमा नयाँ सम्वतको सुरु भएको हो । यो कुरालाई पनि नेपाली इतिहासकारहरु अस्वीकार गर्दछन् तर अध्ययन गर्दैजाँदा लेभीको भनाईसँग सहमत हुनुपर्ने देखिन आउँछ ।

तिब्बतका राजा श्रङ चङ गम्पोको सहायताले नेपालमा नरेन्द्रदेवले आफ्नो पुख्र्यौली राजगद्दी प्राप्त गरेका थिए । राजगद्दी हात परेपनि नरेन्द्रदेव निश्चिन्त थिएनन् । यसै भएर उनले आफ्नो समर्थन र सुृरक्षाका खातिर तिब्बती जनता र सेनालाई नेपालमा निर्वाध रुपमा हुल्न दिएका थिए । नेपाल पसेका सबै तिब्बतीलाई त्यति बेला काठमाडौं उपत्यकामा राख्नु संभव थिएन र भविष्यमा आफूमाथि खतरा आइपर्दाका लागि भनेर पनि हुनसक्छ काठमाडौं उपत्यका वरिपरि तिनीहरुलखाई बसाले । यो उपायबाट नरेन्द्रदेव र उनका उत्तराधिकारीहरुले केही समय निर्वाध रुपमा राज्यसत्ता संचालन गरेका थिए । तत्कालिन शक्ति केन्द्रहरुलाई संभवतः नेपालमा तिब्बती प्रभाव मन परेको थिएन । दिनपर दिन असन्तोष र मनमुटावले कलहको रुप लिंदै गयो । यस अवस्थामा राज्यसंचालनमा अस्थिरता आउनु स्वाभाविक हो र पूर्ववर्ती राजाहरुले जस्तो त्यति बेलाका राजाहरुले कुनै कीर्ति पनि राख्न सकेनन् । यस्तै बेलामा कुनै एक शक्ति केन्द्रका नेता वा व्यापारी राघवदेवको नेतृत्वमा सफल विद्रोह भयो र लिच्छविराजतन्त्रको पतन भयो । यस हिसावले नेपाली श्रोतहरुमा राघवदेवलाई राजाका रुपमा चिनाइए पनि उनी राजपरम्पराको उत्तराधिकारीका रुपमा सत्तामा आएका होइनन् भन्ने बुझिन्छ । राघवदेव सत्तामा आएपछि नेपाल तिब्बतीहरुको प्रभाववाट मुक्त भएको र उपत्यकामा नै रहेका तिब्बतीहरु पनि उपत्यकाको छेउछाउमा बस्न गएको देखिन्छ किनभने नेपालमा बस्न थालेको धेरै वर्ष भइसकेका कारण तिनीहरु आफ्नो देशमा फर्कने अवस्था थिएन । संभवतः यसैलाई लेभीले नेपाल तिब्बतबाट मुक्त भएको घटना भनेका हुन् । राघवदेवपछि पनि नेपालको इतिहास स्पष्ट छैन । तर वंशावलीकै आधारमा भन्न सकिन्छ, आफू सत्तामा आएपछि उनले एउटा नयाँ सम्वतको सुरुवात गरे ।

नेपालसम्वत् सुरु भएको ५०७ वर्षपछि लेखिएको र हालसम्म प्राप्त सबैभन्दा पुरानो गोपालराज वंशावलीमा सम्वत प्रचलनको मात्र कुरा छ । पछि लेखिएका अन्य वंशावलीहरूमा अन्य राजाहरूका साथै शंखधर साख्वाःले हात पारेको बालुवा सुनमा परिणत भएको कथा जोडिन पुग्छ । तर इतिहासकार बाबुराम आचार्य त्यस कथामा आधारित नेपालसम्वत्को इतिहासलाई अस्वीकार गर्दै नयाँ राजवंशको उत्थान भएको स्मारकस्वरूप नै राघवदेवले पशुपतिभट्टारकसंवत्को नामले नयाँ राष्ट्रियसम्वत्को प्रचलन आरम्भ गरेको र यही सम्वत् नै अचेल नेपालसम्वत्को नामले प्रसिद्ध रहेको मान्यता राख्छन् । थालनीमा त्यस सम्वतको नाम दिइएको थिएन, करीव दुई सय वर्षपछि यसको नाम नेपालसम्वत रहन गयो जुन यद्यपि प्रचलनमा नै छ ।

अब प्रश्न उठ्छ, शंखधर साख्वाः को थिए त ? शंखधर र राघवदेव दुई अगलअलग व्यक्ति नभएर एकै व्यक्तिका दुई नाउँ भन्ने बुझिन्छ । यी दुवै नाउँको अर्थ पनि उही देखिन आउँछ । राघव नारायणका प्रतीक भएको र त्यसले शंख धारण गर्ने हुँदा शंखधर भनियो र साख्वाः उनको थर भएकाले राघवदेवलाई नै अर्को नाम शंखधर साख्वाः भनिएको हो । तर राघवदेव वा शंखधरको राज्यकालपछि कति वर्षसम्म र कसरी नेपालमा गणतन्त्र नै कायम भयो भन्नेबारेमा जानकारी पाइँदैन । गणतन्त्र पनि पुनः कमजोर हुँदै गएको अनुमान हुन्छ । इतिहास पुनः अलि अलि स्पष्ट भएर आएको बेला यहाँ राजतन्त्रात्मक राज्यव्यवस्था त देखिन्छ तर देवधारी र मल्लधारी दुई खलकले पालो पालो गरी शासन गर्दथे । यो देवधारी र मल्लधारीहरुको शासन व्यवस्था जयस्थिति मल्लको उदयसँगै बिलाएर मल्लहरूको एकछत्र राजतन्त्र स्थापना भएको थियो ।

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्