कला » अन्तर्वार्ता


 

कार्टून सिर्जना कार्य 'मिस' गरेको छु : सुषमा राजभण्डारी


September 25, 2013, Wednesday

जंगबहादुर राणासँग बेलायत गएका कलाकार भाजुमानको चित्रकला सुषमा राजभण्डारीको घरका भित्ताहरूमा सजिएका थिए । सुषमा राजभण्डारीका बडाबाजेहरू राणाहरूको दरबारमा काम गर्ने हुँदा घरमा चित्रकला सजाउने सौख उनको पनि थियो । यही सौख नै सुषमालाई चित्रकारितामा तान्ने माध्यम बन्यो । अर्थात् घरमा अरु कोही चित्रकार नभए पनि ती चित्रकला देखेर उनलाई अचम्मका साथै कसरी यति राम्रो चित्रकला बनाउने होला भन्ने जिज्ञासा पनि रहन्थ्यो । यही जिज्ञासा र प्रयासको प्रतिफल भन्नु पर्छ सुषमा राजभण्डारी अहिले नेपाल प्रज्ञा प्रतिष्ठानमा ललित कला तर्फ सभासद् छिन् । कार्टुन विधामा महिलाका तर्फबाट कहलिएको व्यक्तित्व भए पनि अहिले कार्टुन बनाउन छोडिएको अवस्था छ । यही विषयवस्तुमा प्राज्ञ सभासद सुषमा राजभण्डारीसँग अमिका राजथलाद्वारा गरिएको कुराकानीः

चित्रकलातिर कसरी आकर्षित हुनुभयो ?

बुवाको घरमा हजुरबुवाको पालादेखिका विभिन्न किसिमका पेन्टिङहरू छन् । घरमा  पुरै पेन्टिङ नै पेन्टिङ । ती पेन्टिङ देखेर मलाई अचम्म लाग्थ्यो । धेरै राम्रो लाग्यो, कसरी बनाउँछन् होला भन्ने ‘क्युरियोसिटी’ त भइराख्थ्यो बच्चाबेलामा । यही कारणले बुवाले मलाई पनि गुरुकहाँ लगेर सिकाउनुभयो ।

को गुरु ?

गोविन्द डंगोल । मेरो पहिलो गुरु हो । पे्रममान चित्रकार, लैनसिंह वाङ्देलसँग पनि सिक्ने मौका पाएँ । 

कति वर्षको उमेरमा ?

यस्तै १२-१३ वर्षमा होला । अलिअलि त पेन्टिङ गर्न थालिसकेको थिएँ । सिकें । एस्एल्सीपछि ललितकला क्याम्पस भर्ना भएँ । पछि विस्तारै विस्तारै मैले पेन्टिङहरू सुरु गरें ।  विभिन्न किसिमका पौवा पेन्टिङहरू बनाउन थालें । ललितकला पढें अनि एमए पनि ललितकलाबाटै गरें । मैले कन्टेम्पोरेरी आर्टमा स्नातकोत्तर गरेको हो ।

आजकल कार्टुनको माग महत्व बढ्दै गएको छ । कुनै समय तपाई पनि यस क्षेत्रमा हुनुहुन्थ्यो तर आजकल एक जना पनि महिला देखिँदैनन् । यो क्षेत्रमा राम्रो आय हुन्न र ?

मैले २०५२–५३ सालतिर ‘नेपाली माटो’मा राजनीतिक कार्टुन र ‘अब्सर्भर’ पत्रिकामा पनि लेखें । मैले धेरै जसो भाँडभैलो, कामनामा लेख्थें । महिलामध्ये साप्ताहिक पत्रिकामा कार्टुन बनाउने काम गर्ने पहिलो म नै होला । आयको सवालमा यो क्षेत्र राम्रो छ तर मिहेनत धेरै पर्छ, त्यसैले हो कि ?

मैले त बंगलादेशको कार्टुन कम्पिटिसनमा पनि भाग लिएको थिएँ । महिलामा नेपालबाट म सेलेक्ट भएको थिएँ । पछि हामीले कार्टुन एनिमेसन पनि बनायौं । 

अहिले पनि कार्टुनमा महिला छँदै छैन भन्दा पनि हुन्छ । तपाई जानेको मान्छे यतातिर आकर्षण नभएर पो अन्ततिर लाग्नु भएको हो कि ?

कार्टुनको एनिमेसन गर्ने नेपालको प्रथम महिला नै म हुँ । कार्टुन एनिमेसन गरेको ऋषि दाई र क्लिन सिटी फोहोरमैलाको । त्यसपछि बालबालिकाको भविष्यसँग सम्बन्धित कार्यक्रम बनाएका थियौं । नेपाल टेलिभिजनमा बाल कार्यक्रममा गाडीमा न्यातापोलमा जाने दृश्य पनि हामीले नै बनाएका थियौं । सेल एनिमेसन हो त्यो ।गर्दै गयौं, स्पोन्सर नपाएपछि छोड्यौं । पहिला जर्मनले स्पोन्सर गथ्र्यो । हामीलाई अमेरिकन कार्टुनिस्टले सिकाउनुभएको थियो ।

तपाई गरेको मान्छेले कन्टिन्युटी चाहिँ किन गर्नुभएन ?

अहिले पत्रपत्रिकामा पनि यङ जेनेरेसन कार्टुनिस्ट छन् । मैले पनि यसलाई निरन्तरता दिन सक्थें होला तर कन्टेम्पोरेरी आर्ट एक्जिभिसन गर्नेमा बढी समय दिन थालेपछि यतातिरको छुट्न गयो । 

आर्ट र कार्टुनमा के भिन्नता छ ?

स्केच गर्न ठ्याक्कै मिलाउनुपर्छ ।  त्यो कार्टुनको एउटा नियम हो । कार्टुन बनाउन झन डिफिकल्ट हुन्छ । पात्रको मोसनहरूलाई विगार्नुप¥यो । एक्सपे्रसन कहिले रोएको, कहिले हाँसेको, बिगार्न पनि गाह्रो छ । सजिलो केही पनि छैन । राजनीतिक नेताहरूको क्यारेक्टरलाई बिगार्न झन गाह्रो छ । 

कार्टुन बनाउने क्रममा महिलाहरू कत्तिको पाउनुभयो ?

महिलाहरू फाट्टफुट्ट थिए । अस्मिना श्रेष्ठ, जुनु वासुकला, संगी श्रेष्ठले केही गरेका थिए तर निरन्तरता दिएनन् । कलेज लाइफमा लेख्छन् पछि छोड्छन् । यस्तो धेरै नै भेट्टियो ।

पेशागत रुपमा गर्ने कोही पनि छैनन् ?

नयाँ जेनेरेसनमा प्रोफेसनल्ली गर्ने कोही पनि देखिएको छैन । पहिला म साप्ताहिकमा गर्दा त छँदै थिएनन् । अहिले पनि रेगुलर गर्ने छैनन् ।

आर्ट सेक्टरमा तपाई प्राज्ञ तहमा हुनुहुन्छ । कुनै पनि सेक्टरको विकासका लागि महिला भएकोले महिलाका लागि केही गर्नुपर्छ भन्ने सोच्नुभएको छ कि छैन ?

महिला चाहिन्छ । ३३ प्रतिशत मात्र होइन ५० प्रतिशत नै महिला चाहिन्छ । पहिला पो कलाकारहरू हातमा गन्न सकिन्थ्यो, महिलाहरू आउन सकेनन् तर अहिले त थुप्रो महिलाहरू छन् 

यो सिकाएर सिक्ने विधा हो कि होइन ?  

नजान्नेहरूलाई सिकाउँदा सकिन्न । यसमा कन्सियस हुनैपर्छ । म्यागेजिनमा काम छोडेको कारण नै यही हो काम बेसी गर्नुपर्छ, फिल्डमा हिड्नुपर्छ, त्यही भएर महिलाहरूले सकेन । नेपाल विकासोन्मुख देश भएर नेपालमा मात्र नभई अन्तर्राष्ट्रियमा पनि मेल डोमिनेटेड छ । प्रत्यक्ष र अप्रत्यक्ष मात्र हो । नेपालमा मात्र नहुने त कुरै भएन । महिलाले यो त्यो गर्नुहुँदैन भन्ने छैन, इम्प्रुभमेन्ट आइसक्यो अहिले । 

तपाईले गर्न सक्नुभयो भने अरुले किन गर्न सकेनन ?

धेरै कारण छन् । कोही आर्थिक अवस्थाले कोही मिहेनत गर्न नसकेर । आर्ट सिक्नलाई धेरै पैसा चाहिन्छ । त्यसैले गर्न गाह्रो छ । 

कति खर्च हुन्छ ?

डिग्री पास गर्नलाई २ देखि ४ लाख खर्च हुन्छ । चिनिएको कलाकार भएपछि मात्र पेन्टिङ बिक्री हुन्छ । राम्ररी गर्नलाई विस्तारै गरेपछि मात्र हुन्छ । त्यसमै निरन्तर लाग्न सके गन्तव्यमा पुग्न सकिन्छ । तरकारी बेचेर विचमै कमिसन खाए जस्तो यसमा मिल्दैन ।

तपाई नीति निर्माण तहमा हुनुहुन्छ । महिला कार्टुनिष्टको विकासका लागि तपाईहरूले केही सोच्नुभएको छ कि छैन ? 

मैले आर्ट ट्रेनिङ सेन्टर खोलेको छु । गृहिणीहरूले पनि कला सिक्न सक्छन् । भोलि कार्टुन ग्राफिक डिजाइन गर्न सकिन्छ । लाइन ड्रइङ महिलाले गर्न नसक्ने होइन । तर महिलाहरूले घर पनि हेर बाहिर पनि गर । कार्टुन विधालाई छुट्टै विधामा गनिन्छ । हामे सभामा पनि यही कुरा आएको थियो  कार्टुन विधालाई पनि महत्व दिनुपर्छ भनी पहल गरेका थियौं । यसलाई पनि ‘विविध’ विधामा राख्नुपर्छ भन्ने माग छ ।

विविध विधामा के के छ ?

फोटोग्राफी, भिज्युअल आर्ट । कार्टुन पनि विविधमा नै पर्छ । कार्टुनलाई छुट्टै परम्परागत, अमूर्त कला कन्टेम्पोरेरी राख्नुपर्छ भन्ने माग छ । 

कार्टुनलाई महत्वदिन किन नसकिएको ?

कलामा परिषद्बाट पास भएपछि हुन्छ । नियमावलीमा बस्यो भने सकिहाल्यो ।

अहिले विविधमा राख्ने प्रस्ताव छ कि छुट्टैमा ?

हामी छुटट्टै विधामा पहल गर्दैछौं । त्यसलाई मान्यता दिनुपर्छ ।

कार्टुनमा कुनै रुल छ ?

कार्टुन बनाउने रुल छ । मुख हाँसेको कसरी बिगारेर लाने । क्यारेक्टर लाई कसरी हाल्ने ? भनौं गिरिजाप्रसाद कोइरालाको क्यारेक्टर कहाँबाट हाल्ने ? नाकबाट । कसैको मुख लामो हुन्छ, कसैको आँखाबाट । क्यारेक्टरमा चेन्ज गर्दैनौं हामीले । क्यारेक्टरमा सबैभन्दा देखिने कुरालाई महत्व दिएर त्यसलाई इम्फासिस दिएर बनाउने हो ।

आफ्नै कार्टुन बनाउँनु पर्दा ?

म आफ्नो नाक र चस्मालाई महत्व दिन्छु ।

आफ्नै कार्टुन पनि बनाउन मन लाग्छ ?

मन लाग्छ, मैले बनाएको छु । 

ललितकलामा कार्टुन कोर्स छुट्टै हुँदैन ?

कहिँ पनि छैन । जब नियमावली बनाएर राखिन्छ अनि मात्र पहल गर्नुपर्छ । ललितकलामा झन् परम्परागत कला पनि छैन । परम्परागत कला राख्नैपर्छ भन्ने पक्षमा म छु । अमूर्ततिर किन मान्छे बढी गयो ?

अरु केही छ ?

कार्टुनमा आउनुपर्ने जस्तो लाग्छ । मैले मिस गरेको फिल गरेको छु ।

फेरि गर्न सकिन्छ कि ?

एउटा कलाकारले गर्न नसक्ने केही छैन । म सांकेतिक र व्यंग्यात्मक आर्ट गर्न मन पराउँछु । आजकल मैले कार्टुन गर्न नसके पनि व्यंग्यात्मक आर्ट गर्दैछु । मेरो प्रत्येक प्रदर्शनीमा सताइरिक आर्ट हुन्छ । महिला र पुरुषमा सन्तुलन हुनुपर्छ, त्यो सताइरिक पेन्टिङ धेरै पत्रिकामा छापियो ।

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्