संस्कृति » लेख/फीचर/समीक्षा


 

बुद्ध धर्ममा मदिरापानको अर्थ


बसन्त महर्जन
September 25, 2013, Wednesday

आफ्नो पहिचान बौद्धको रुपमा गराउने व्यक्तिले न्यूनतम बौद्ध आचरण त पालना गर्नै पर्छ । बौद्धहरुको जीवन चर्या वा जीवन शैली कस्तो हुन्छ भन्ने प्रश्न इतर बौद्ध समाजमा स्वाभाविक रुपमा उठ्ने गर्छ र एउटा सच्चा बौद्धले ती प्रश्नहरुको जवाफ दैनिक जीवन शैलीबाट नै दिनु पर्छ । यसो भएको हुनाले बौद्धले बौद्ध धर्मको अध्ययन मात्रै गरेर पुग्दैन, साथसाथै त्यसलाई व्यवहारमा पनि उतार्दै लग्नु पर्दछ । यहाँ बौद्ध  जनजीवनले मदिरापानलाई कसरी हेर्दछ वा मदिरा पानले बौद्ध जनजीवनमा के अर्थ राख्दछ भन्ने सन्दर्भमा चर्चा गरिन्छ । 

बौद्धहरु शीलमा जोड दिन्छन् । शील बलियो भयो भने मात्रै समाधि कसिलो हुन्छ र यी दुर्इृपछि प्रज्ञा लाभ हुन्छ । प्रज्ञा लाभ नै बौद्धहरुको उद्देश्य हो । यही भएर शीललाई प्रज्ञाको जग पनि भनिन्छ । दैनिक जीवनमा पंचशील पालना गर्नु पर्ने आदर्श सामान्य बौद्ध जीवनमा रहेको पाइन्छ र ती पाँच शीलमध्ये एउटा हो– सुरामेरय मज्जपदमादट्ठाना वेरमणी सिक्खापदं समादियामी (= रक्सी  आदि लागू पदार्थ नपिउने शिक्षा ग्रहण गर्दछु) । यो शील भिक्षु वा अग्रजबाट विहार वा अवसर विशेषमा सामुहिक रुपमा लिइन्छ । कुनै पनि बौद्ध कार्यक्रममा पंचशील प्रदान बडो महत्वका साथ लिने र दिने गरिन्छ । यही शीललाई संस्कृतमा लिँदा जीवनभर सुरापान गर्दिन भन्ने अठोट गरिन्छ । 

सामान्यतः मदिरापानले स्वास्थ्यलाई हानी गर्छ तसर्थ यसको सेवन गर्नु हुन्न  वा कम मात्रै गर्नु पर्छ भन्ने गरिन्छ । अझ कतिपय समुदायमा हल्का मदिरापान आदर्श वा अनिवार्य नै पनि मानिन्छ । तर बौद्ध समाजमा यसलाई पूर्णतः त्याज्य नै मानिएको छ । बौद्ध समाजमा मांशाहार भोजनलाई प्रोत्साहन गर्दैन, गरिहाल्नु प-यो भने पनि केही प्रावधान (त्रिकोटी भोजन) राखिएको हुन्छ । तर मदिरापानलाई त्यस्तो केही प्रावधान पाइँदैन । 

मदिरापानले स्वास्थ्यलाई हानि गर्ने पक्ष शत्प्रतिशत सही हो । स्वास्थ्यलाई हानी गर्ने कुरालाई बुद्धले निषेध गर्नु स्वाभाविक हो । बौद्ध समाजमा मदिराको अर्थ स्वास्थ्यको लागि हानिकारक तत्व मात्रै होइन, चित्तलाई बिगार्ने कुरा पनि हो । गहनतम दार्शनिक पृष्ठभूमिमा चित्तलाई जुन स्थानमा राखेर अध्ययन गरिन्छ, व्यावहारिक जीवनमा पनि उति नै महत्व दिएर चित्तबारे चिन्तन गर्नु पर्दछ र सजग भई चित्तमाथि निगरानी गरिराख्नु पर्दछ । चित्तको कुरा गर्दा प्रायः उल्लेख गरिने र धम्मपदमा संग्रहित सुरुका दुई गाथा यस्तो छ–

मनोपुब्बड्गमा धम्मा – मनोसेट्ठा मनोमया
मनसा चे पदुट्ठेन– भासति वा करोति वा
ततो नं दुक्खमन्वेति – चक्कं’ व वहतो परं ।।१।।

मनोपुब्बड्गमा धम्मा – मनोसेट्ठा मनोमया
मनसा चे पसन्नेन– भासति वा करोति वा
ततो नं सुखमन्वेति – छाया’ व अनपायिनी ।।२।।

यसको सामान्य भावार्थ यस्तो हुन्छ– मनको धर्म जुनसुकै काममा अगुवा हुनु हो र मुख्य भएर जताततै पुगेको हुन्छ । यसर्थ अशुद्ध मन भएर कसैले बोल्यो वा केही ग¥यो भने बयलको  पछि पछि गाडाको पाङ्गा आएजस्तै दुःखले पिछा गरिरहेको हुन्छ । यसै गरी शुद्ध मन लिएर कसैले बोल्यो  वा केही ग¥यो भने पिछा नछाड्ने छाया आए झैं सुख पछि पछि लागेर आउँछ । 

सजग भएर चित्तलाई वशमा राख्न सकिएन भने यो बरालिन्छन् । बरालिएको चित्तको परिणाम अन्ततः हानि नोक्सानी नै हो । यस्तो हानि नोक्सानी आफूमा मात्रै सीमित हुने होइन, अरुलाई पनि प्रभावित पार्दछ । त्यो बेला जुन कार्य गरिन्छ, त्यसले पुण्य कमाइँदैन । पाप कर्म गर्न पुगिरहेको हुन्छ र त्यसको परिणाम भोग्नै पर्ने हुन्छ । चित्तलाई बिगार्ने अनेकौं तत्वहरु मध्ये एउटा मदिरापान हो । अलिकति  खाँदा स्वादले जिह्वालाई थप स्वादको इच्छा जागृत गरिदिन्छ अर्थात् तृष्णा उत्पन्न हुन्छ । यो तृष्णाले मान्छेलाई बेहोस बनाउने हो । चञ्चल चित्तलाई बसमा राख्न सजग भएर बस्नु पर्नेमा अलिकति भन्दै मदिरापानलाई बढाउँदै लानु कुबाटोमा अग्रसर हुनु हो । 

मदिराले मात्तिएकाहरु कसैले आदरसम्मान गर्न सक्दैनन् । मात्तिएको अवस्थामा व्यक्त हुने आदर सम्मानका शब्दहरुलाई सम्बन्धित व्यक्तिले आदर सम्मानका रुपमा ग्रहण गर्दैनन् । कसैसँग द्वेष छ भने त्यो द्वेष उकुसमुकुस  भएर उसैसँग गुम्सिएर रहेको हुन्छ । यस्तो द्वेषहरु मदिरापानका बेला छताछुल्ल हुन्छन् । यस सन्दर्भमा गौतम बुद्धसँग नै सम्बन्धित एक घटना उल्लेख गर्नु सान्दर्भिक हुन्छ । उनान्तीस वर्षको उमेरमा घरवार त्याग गरी श्रमण गई हिडेका कपिलवस्तुका सिद्धार्थ ई.पू. ५२३ बैशाख पूर्णिमाका दिन बोधगयामा बुद्धत्व प्राप्त गरी बुद्ध भए । विरोधीहरुबाहेक सबैले बुद्धको आदरसत्कार नै गर्दथे । तर उनका आफ्नै ससुरा सुप्पबुद्धमा भने गौतम बुद्धप्रति द्वेष भाव थियो । छोरी यशोधरालाई छाडेर हिडेको मात्रै नभएर उनीकहाँ गएर भिक्षु बनेका छोरा देवदत्तलाई भिक्षुसंघमा राम्रो स्थान नदिएको नै ज्वाईँ (गौतम बुद्ध) प्रति ठूलो द्वेष हुनु थियो । एक पल्ट बुद्ध देवदह पुगेका थिए । त्यो बेला सुप्पबुद्ध मदिराले मात्तिएको अवस्था थियो । उनलाई के गर्नु हुन्छ र के गर्नु हुन्न भन्न होस नै थिएन । उनको चित्त आफैद्वारा नियन्त्रित नभएर मदिराबाट नियन्त्रित थियो । मदिराकै कारण उनमा घमण्ड पनि चढ्दो थियो । जुन बाटो भई बुद्ध आइरहेका थिए, त्यही बाटोमा व्यवधान हुने गरी उनी लम्पसार परेर सुतिदिए । उनलाई त्यहाँबाट कसैले पनि उठाउन सकेनन् । यही घटना नै उनको पतनको प्रमुख कारण बन्यो । 

आजभोलि बौद्ध संघसंस्था वा बुद्ध–बुद्धधर्मका नाममा आयोजना गर्ने कार्यक्रमहरुमा मदिरा सेवन गराएको पनि पाइन्छ । बौद्ध संस्थाबाट आएको तलबले किनको मदिरामा लठ्ठिएर हिड्ने स्वनामधन्य व्यक्तित्वहरु पनि पाइन्छन् । यिनीहरुलाई बुद्ध र बुद्ध धर्मका नाममा तर मार्न आइपुगेका हरुको दर्जामा राख्न सकिन्छ । स्वयं बौद्धहरु, अझ बौद्ध धर्मको गतिविधिमा लागेकाहरु नै पनि मदिरामा झुम्मिएको नपाइने होइन । यस्तो बौद्धहरुले सुधार्नु पर्ने पहिलो काम नै मदिरापानको परित्याग हो र जबसम्म यस्ता कुराहरुको परित्याग गर्दैनन् तिनीहरुले पंचशील ग्रहण गर्नुको कुनै तुक छैन । 

बुद्ध दर्शनको विकास क्रममा तन्त्रले पनि ठाउँ पायो । तन्त्र साधनासँगै बुद्ध धर्ममा मदिराले प्रवेश पाएको पनि बताइन्छ । तन्त्र साधकहरुले मदिरा सेवन गर्नै पर्छ भन्ने मान्यता आफैमा बनावटी कुरा हो । सामान्यतः महायानी बुद्ध धर्ममा तन्त्रलगायतका कुराहरु विकास भएपछि बज्रयान बुद्ध धर्मको विकास भएको भन्ने बुझाइ पनि पाइन्छ । तर बज्रयान बुद्धधर्मका ग्रन्थहरुमा मदिरापानलाई स्वीकृत दिएको देखिन्न । यसको उल्टो मदिरापानलाई पूर्णतः निषेध गर्ने बज्रयानी साधकहरु पनि देख्न पाइन्छन् र तिनीहरुको साधना पनि चलिरहेको नै पाइन्छ । यस अवस्थामा बज्रायनी बुद्ध धर्ममा मदिरापान अनिवार्य देख्नु भ्रम वा गल्ती मात्रै भएको बुझिन्छ र मदिरापानलाई विकृतिको दर्जामा राख्न सकिन्छ । जसरी थेरवादी बौद्धहरु पंचशील ग्रहण गर्दछन्, बज्रयानी बौद्धहरु पनि सोही पंचशील ग्रहण गर्दछन् जसमा मदिरापान जीवनभर गर्दिन भनेर अठोट गरिएको हुन्छ । 

मदिराले तन र मन दुबैलाई बिगार्ने हुँदा यसलार्य बौद्ध समाजमा त्याज्य मानिएको भनी बुझ्नु पर्दछ । मदिराले जात, वर्ण, लिङ्ग, धर्म राष्ट्र, धनी, गरीब आदि केही कुराको पनि भेद गर्दैन र सबैको स्वाथ्य पनि बिगार्ने हुन्छ । एक प्रकारले यो मन्दविष पनि हो । विषपानको सोझो अर्थ आत्महत्या हुन्छ र यसलाई बुद्ध धर्ममा महापापको दर्जामा राखिएको दुश्कर्मका रुपमा लिइन्छ । 

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्