समाज » अन्तर्वार्ता


 

म्यागासेसे अवार्ड मैले नै पाएको अनुभूति गरेको छु : डा. रेणु राजभण्डारी


September 3, 2013, Tuesday

डाक्टरको रुपमा सरकारी काम गर्ने क्रममा डा. रेणु राजभण्डारीले एक जना बेचबिखनबाट प्रभावित तथा वंगलोरवाट फर्केकी महिलालाई नुवाकोटमा भेटेकी थिइन् । उनको मर्मस्पर्शी जीवन व्यथा नै डा. रेणुको जीवनको बाटो परिवर्तन गर्ने माध्यम बन्यो । ती महिलालाई भेटे पछि चिकित्सकीय काम छाडेर महिला सशक्तिकरणका लागि हिंडेकी डा. राजभण्डारीको पाइला सुस्ताएको छैन । बेचविखनबाट प्रभावित महिलाहरूको पुनस्र्थापन गर्ने उद्देश्यले सन् १९९१मा महिला पुनस्र्थापना केन्द्रको संस्थापक अध्यक्ष भएर कामलाई अगाडि बढाइन् । उनै डा. रेणु राजभण्डारीसँग बेचबिखनमा परेका  महिलाको पुनस्र्थापनको दृष्टिकोणबाट गरिएको कुराकानीः

महिला पुनस्र्थापना केन्द्र (ओरेक) नै संस्थाको नाम कसरी रहन गयाे ?

बेचबिखनबाट प्रभावित तथा वंगलोरवाट फर्केकी महिलालाई नुवाकोटमा भेटेपछि म एकदमै डिपे्रस्ड भएको थिएँ । यसमा मैले केहीगर्न नसक्ने फिल भएको थियो । मेरो साथी, श्रीमान् सबैले इन्करेज गरेर त्यस्तो महिलालाई के गर्नुपर्छ भनेर सपोर्ट गर्ने ठाउँ भनी महिला पुनस्र्थापना केन्द्र नाम राखी सुरु भएको थियो । सुरुमा वम्वईमा देहव्यापार गर्न वाध्य भएका महिलाहरुलाई सपोर्ट गर्न काम सुरु ग¥यौं । काम गर्ने क्रममा हामीले अनुभूति ग¥यौं, पुनस्र्थापना एउटा होला तर यसले मान्छेको सोच नै गलत बनाउँछ । पुनस्र्थापना भन्ने वित्तिकै मान्छे जो पुनस्र्थापित हुने हो, उसको पावर हराउँछ । म यदि सर्भिस प्रोभाइडर हो भने म जस्तो चाहन्छु त्यही अनुसारले गर्नखोज्छु । पुनस्र्थापनाको कन्सेप्टले मात्र गएर मिल्दैन उसको पूरा व्यक्तित्वको पहिचान नै पुर्ननिर्माण गर्न आवश्यक हुन्छ । यही सोचवाट १९९६ मा मुम्वईबाट बहिनीहरु आए । १२ जनालाई यही सोचवाट काम गरें ।

यहाँ गु्रपमा भएकोले उनीहरुको पहिचान निर्माण गर्ने एउटा मोडेल पनि डेभलप हुन गयो । यसलाई मैले एक्टिभ रिसर्चको रुपमा पनि लिएँ । हामीले सबैलाई पुननिर्माण गर्नुपर्छ भनेर एउटा कार्यक्रम बनायौं । पुनस्र्थापना भनेर ४ महिना राख्यो सिलाइबुनाइ तालिम दिएर जिल्लामा पठाएर हुँदैन । पुनस्र्थापना हुन उनीहरु जुन ठाउँवाट बाहिरिएका छन् त्यो ठाउँको या व्यक्तिको सामाजिक आर्थिक परिवेश परिवर्तन हुनुप¥यो । 

ओरेकले काम गर्दा उनीहरूको परिवेश, चिनारी पनि परिवर्तन गर्न खोज्यौ, अहिले पनि गर्दैछौं । जस्तै, शक्ति समुहको लिडरहरुको पढाइ सुरु ग¥यौं । फर्केकाहरुलाई हेरेर पढ्न सक्ने क्याटेगोराइज गरेर पढायौं । ६ महिने भिलेज लेभल हेल्थ टे«निङ, कम्प्युटर तालिमजस्ता कृयाकलापले उनीहरुको क्षमता अभिवृद्धिसँगै जीवनको सीप पनि विकास हुँदै गयो ।

पुनस्र्थापनका लागि यहाँहरूले अपनाउनु भएको प्रकृयामा अहिले पनि निरन्तरता छ ?

ओरेकभित्र हामी त्यही स्पिडमा छौं । हिंसा प्रभावित, पीडित आउँछन्– उनीहरु आफै संस्थाहरु बनाउँदै गइरहेका छन् अहिले । दाङमा ओरेकको सेफ हाउसमा बसेर बाहिरिएका ७४ जना महिलाहरुले सक्षम महिला समुह भनी दर्ता गरेर खेती गर्नेदेखि लिएर गाई पाल्ने आफ्नो मेकानिज्ममा गइरहेका छन् । जसरी शक्ति समुहले आफै खोजेर काम गरेका छन्, त्यसरी अरुले पनि आफैंले खोजेर गरेका छन् । हामी लिंक मात्र गराउँछौ । जिल्ला विकास, कृषि, पशुवाट लिनुहुन्छ । नेपाल सरकारको स्थानीय स्रोत उनीहरुले परिचालन गरेका छन् । हाम्रो त बाटो देखाउने काम मात्र हो । 

समग्रमा अहिलेको पुनस्र्थापना प्रकृया कस्तो छ ? 

पुनस्र्थापनाको सोच मिलेको छैन, अझ सरकारी निकायमा । पुनस्र्थापना भनेको– बिचरा बहिनीलाई केही गरिदिउँ भन्ने सोच छ, त्यो होइन । हाम्रो कार्यक्रमले उनीहरुको जीवन नै कसरी पुननिर्माण हुन्छ भनी योजना बनाउने हो । पुनस्र्थापना भनेको ३, ४, ५ महिने होइन । कसैलाई ३ महिना, कसैलाई ३ वर्ष, कसैलाई १३ वर्ष पनि लाग्न सक्छ । त्यो कुरा विर्सन भएन । मान्छेको आवश्यकतालाई विश्लेषण गरेर उसको जीवन नै पुननिर्माण गर्न हरेक पाइलामा सपोर्ट गर्दै जानुपर्छ । त्यसमा टाइम कन्जुमिङ पनि हुन्छ ।

अहिले पनि ओरेकमा ८ वर्षदेखि हिंसा पीडित महिला छ । अहिले विशेष कृषि प्राविधिक कार्यक्रम ल्याउँदैछौ । ५, ६ कक्षा पढेर आएको छ भने उनीहरुको क्षमताले भ्याउने काम दिन्छौं । ओरेकले त्यत्तिकै राख्दैन । संस्थाको खाएर बसेको छु भन्ने महसुस नगरुन, काम गरेर खाएको छु भन्ने अनुभुति गरुन् भन्ने हाम्रो चाहना हो । 

यसले मान्छेको स्वाभिमान बढ्छ, लाइफस्किल डेभलप गर्छ । ट्राफिकिङ पनि हिंसा पीडित हो । ट्राफिकिङबाट पीडित करीव पाँच सय दक्ष महिला ओरेकबाट निस्किए । शक्ति समुहमा रहेका कति विदेश गएका छन् कति अन्तै गएर काम गरेका छन्, नयाँ पहिचान र दक्षताका साथ ।

नेपालको पुनस्र्थापना सम्बन्धी कानुन कस्तो लाग्छ, यहाँलाई ?

चित्त नबुझ्दो कुरो छ । सुरुवातदेखि नै महिलालाई पीडितको रुपमा हेरेको छ, त्यो हुनुहुँदैन । ‘स्टीग्माटाइज’ गरेको हुन्छ । अहिले नेपाल सरकारको कानुनअनुसार पुनस्र्थापना गृहमा साइनवोर्ड राख्नुपर्छ । यहाँ यस्ता खालका मान्छे बस्छन् भनेर दुनियाँलाई किन देखाउनुप¥यो ? ओरेकमा पहिला ट्राफिकिङ सर्भाइभरलाई मात्र छुट्टै राखेर काम गरेका थियौं । धेरै स्टिग्मा भयो । त्यसपछि त्यसलाई परिवर्तन गरेर पुनस्र्थापना गृह नै नभन्ने, वोर्ड नराख्ने पक्षमा हामी गयौं । 

के परिवर्तन हुनुपर्छ त ?

धेरै ठिक छैन भन्न मिल्दैन । केही कुरा अधिकारमुखी सोचबाट अघि वढ्नुपर्छ । अहिले कल्याणकारी सोचबाट छ । २, ३ महिनापछि पुनस्र्थापना गृहबाट निस्कनु पर्ने टाइम वन्ड छ, निस्कनुपर्ने कुरा हुनुहुँदैन । व्यक्तिको इच्छा र क्षमता अनुसार सीप सिकाउने कुरा छैन त्यहाँ । 

पुनस्र्थापना कार्यमा चुनौती के छ ?

एकदमै गाह्रो छ । त्यसैले पुनस्र्थापना गृह गोप्य राख्नुपर्छ । १९९६ मा बहिनीहरु आउँदा एउटा पत्रकारले गौरीघाटमा कोठी चलाएको छ भनेर लेख्यो, अर्काको छोरीलाई किडन्याप गरेर सिध्याइदिन्छु भनेर धम्क्याउँथ्यो । अहिले पनि मोरङको सेफ हाउस ३ पटक हामीले फेरिसक्यौ । सरकारी मान्छेलाई बुझाउनै गाह्रो । उनीहरु हेर्न जान्छन्, मान्छेहरुलाई त्यो सेफ हाउस हो भन्ने थाहा हुने वित्तिकै अप्ठ्यारो पर्छ । काठमाडौंको सेफ हाउस कहाँ छ भनेर मलाई नै थाहा छैन । रिस्क छ । पुनस्र्थापनाभित्र काम गर्ने बहिनीलाई पनि असाध्यै रिस्क हुन्छ ।

पुनस्र्थापनाको सोच इस्टाव्लिश गर्नु नै सबैभन्दा ठुलो चुनौती हो । विचारा महिलालाई केही गर्नुपर्छ भन्ने हाम्रो मानसिकताबाट मुक्ति पाउनुप-यो । समाजमा गएर पुनर्मिलन गराउन अप्ठ्यारो छ त्यसैले कतिपय अवस्थामा पहिचान नै बदल्नुपर्ने हुन्छ । हामीमा कानुनी अड्चन धेरै छ । यदि कुनै महिला सिन्धुपाल्चोकको हो भने उसको नाम पहिचान सबै बदलेर नुवाकोटमा स्थापित गराउनुपर्ने हुन्छ । त्यो गर्न कानुनदेखि लिएर हरेक कुरामा समस्या हुन्छ ।

तपाई पनि धम्की आउँदा डर लाग्यो होला नि ?

रातभरि रोएर बिताएको छु, मेरो स्वास्थ्य खराब यत्तिकै खराब भएको छैन । श्रीमान्लाई भने किन यस्तो काम गर्नुप¥यो भनी आफैंले गाली खाने, अरुलाई भने सबैले औंला ठड्याउने । त्यो वातावरणले छोरीमाथि कडाइ गर्थे, गाली गर्थे, आफू इरिटेड हुन्थे । मेरो बच्चासँग मेरो सम्बन्ध अहिले पनि राम्रो छैन । कडा स्वभाव विकास भएको छ, मैले यो काम गर्दा नै हो ।

पीडितहरूको सामाजिक परिवेश वदल्ने कुरा भयो । फेरि समाजबाटै टर्चर हुन्छ होला नि ?

सामाजिक, आर्थिक चिनारी परिवर्तन हुनुप-यो । त्यतिबेला पहिचान एउटा प्रोफेसनल महिलाको हुन्छ नि । बलियो भयो भने केही पनि अप्ठ्यारो पर्दैन ।

सामाजिक, आर्थिक परिवेश त परिवर्तन होला तर प्रशासनिक पहिचान नि ?

कानुन एकदमै गाह्रो छ, बुझाउनै गाह्रो । नागरिकता लिन पनि गाह्रो ।

यस्तो प्राक्टिश गर्नुभएको छ ?

छ, हामीले गरेका छौं । 

संरक्षणको पाटोमा के गर्न सकिन्छ ? के गर्दा ट्राफिकिङ घट्न क्छ ?

एउटा महिलाको हिड्न, डुल्न, बाहिर जान पाउने अधिकार सुनिश्चित हुनुपर्छ । जाँदा सूचना लिएर जाने । समाजको सामाजिक, आर्थिक स्थितिमा परिवर्तन हुनुप-यो । चेतना अभिवृद्धि कार्यक्रमले केही गर्छ जस्तो लाग्दैन । यो महिलाको सामाजिक आर्थिक, अधिकार र विकास, नीतिगत कुरासँग जोडिएको कुरा हो । अहिले सबैभन्दा ठूलो ट्राफिकर नेपाल सरकार भन्छु म । वैदेशिक रोजगारमा जाने जस्तो प्रावधान छ, त्यसले ट्राफिकिङ बढाइरहेको छ ।

तत्कालीन अवस्था र अहिलको अवस्थामा के परिवर्तन पाउनु भएको छ ?

२२ वर्षको दौरानमा नीतिगत कुरा बुझेको छु । मभन्दा बढ्ता पावर पीडित बनाइएका व्यक्तिहरुमा छ । उनीहरुको पावरसँग जोडिएर मेरो काम हुनुपर्छ । 

ओरेकको सक्रियतामा गठन भएको ‘शक्ति समुह’ले म्यागासेसे पुरस्कार पाएको छ । तपाईलाई कस्तो महसुस हुँदैछ ?

मैले लिएको भिजन सही थियो भन्ने प्रमाणित भएको छ । शक्ति समुहले म्यागासेसे पुरस्कार पाएका छन् उनीहरुले पाउनुपर्छ त्यो । त्यो अवार्ड मैले नै पाएको अनुभुति गरेको छु । महिला अधिकारकर्मीबाट धेरै चुनौती खेप्नुपरेको थियो । यस्ता केटीहरुले पनि गर्लान् र ? भन्थे । तर, म सफल हुन्छु भन्ने आफू भित्रको विश्वास थियो त्यो विश्वास झन् बढेको छ अहिले ।

साभारः हसना म्यागेजिन

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्