विविधा » व्यक्तित्व


 

जादू देखाउने बौद्ध भिक्षु


बसन्त महर्जन
August 24, 2013, Saturday

भारतमा एक बौद्ध भिक्षु आजभोलि जादू देखाउँदै हिड्छन् । उनको पहिचान बौद्ध भिक्षु त हो नै, तर जादू देखाउने भिक्षुका रुपमा । 

गौतम बुद्धले जादू वा इन्द्रजाललाई कुनै स्थान दिएका भने छैनन् । जादू देखाउने एक दम्पतीलाई प्रव्रज्या दिई भिक्षु र भिक्षुणी बनाएको घटना भने पाइन्छ । तर त्यसपछि तिनीहरुलाई जादू देखाउन दिएनन् । 

जादूले जस्तै मान्छेलाई विस्मीत पार्ने ऋद्धिबल प्रदर्शनी बौद्ध जगतमा पाइन्छ । बुद्ध पनि ऋद्धिबल  प्रदर्शनी गर्दथे । उनका अग्रश्रावक मौद्गल्यायण त  ऋद्धिबलमा माहिर नै थिए । हावामा हिड्नु, उड्नु, तुरुन्तै अन्र्तध्यान हुनु तथा प्रकट हुनुजस्ता अनेकौं ऋद्धिबल ध्यानीहरुलाई स्वतः प्राप्त हुने गर्दछ । तर जहाँ पायो त्यहाँ ऋद्धि प्रदर्शनी गर्दै हिड्नमा बुद्धले रोक लगाएका थिए । बुद्धले विभिन्न खेलमाथि कडा रुपमा प्रतिबन्ध लगाएका थिए, त्यही प्रकृतिको जादूमाथि मात्र सकारात्मक हुने त कुरा हुँदैन । तर जादू देखाउँदै हिड्ने भन्ते बुद्धप्रकाश भन्छन्– ‘‘जादूलाई प्रयोग गरेर म ‘अन्धविश्वास भगाओ– देश बचाओं अभियानमा लागिरहेको छु ।’’

बुद्धले आफ्ना भिक्षुहरुलाई लोक कल्याणका लागि देशदेशावरको यात्रा गर्न उत्प्रेरित गर्थे । एकै ठाउँमा बसिराख्न दिंदैनथे । स्वयं बुद्ध पनि भ्रमण गर्दै गर्थे र धर्म उपदेश दिँदै हिड्थे । उही परम्परालाई भन्ते बुद्धप्रकाश थाम्दै आएका छन् । उनले जादू देखाउँदै भारतका १५ प्रदेश घुमिसकेका छन् । स्कूल, कलेज, जेल मात्रै होइन, घुम्दै जानेक्रममा उपयुक्त समय र स्थान पायो कि उनी जादू देखाउन तम्सी हाल्छन् । टेलिभिजनमा पनि जादूको प्रदर्शन गरिसकेका छन् । उनी भारतका विभिन्न ठाउँको भ्रमण गर्दै गरेको अवस्थामा  विहारस्थित नव नालन्दा विश्वविद्यालयको नजिकै एक विहारमा मेरो उनीसँग भेट भएको थियो ।

उनी जादू देखाएर मान्छेहरुलाई अचम्म मात्रै पार्दैनन्, जादू देखाउँदा लुकाइने ‘ट्रीक’ पनि खुलाइदिन्छन् । जादू, टुनामुना जस्ता केही पनि कुरा छँदै छैनन् र तिनीहरु त हातको सफाइ मात्रै रहको सन्देश दिएर सर्वसाधारणलाई अन्धविश्वास तथा अन्य भ्रमबाट हटाउनु नै उनको मुख्य उद्देश्य हो ।  जादूको मद्दतबाट अन्धविश्वासलाई संस्थागत गर्नेहरुको आधार नै ध्वस्त पार्न उनले यसरी जादूको भेद पनि खोल्ने गरेका हुन् । जादू देखाउँदै हिडने क्रममा उनी सामाजिक अन्धविश्वासमाथि प्रहार गर्नुका साथै बुद्ध वचनहरु पनि सुनाउँदै गर्छन् । 

भन्ते बुद्धप्रकाश भिक्षु हुनुअघि पेशाले चिकित्सक थिए । हिन्दू पृष्ठभूमिका उनी बौद्ध धर्ममा आकर्षित भई १५ वर्षअघि प्रव्रजित भएका थिए । बौद्ध धर्ममा प्रवजित हुनु भनेको भिक्षु बन्नु हो । 

जादूको प्रशिक्षण लिई अब जादू देखाउँदै हिडेका हुन् । जादू मात्रै देखाउने कि सिकाउने पनि गर्नु हुन्छ ? उनी जवाफ दिन्छन्, मेरो उद्देश्यमा सहायक हुने हो भने तिनीहरुलाई सिकाउनमा कुनै आपत्ती छैन । भन्छन्– ‘‘म जादूगर होइन, भिक्षु हुँ । मान्छेलाई जागरुक बनाएर समाजलाई डो-याउन चाहन्छु ।’’

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्