नेवा: विशेष || समाज » लेख/फीचर/समीक्षा


 

'मनू मखु मर्स्या' को अर्थ के हो, र कहाँबाट शुरु भयो ?


डा. जुही गुभानी (क्यानाडा)
August 19, 2013, Monday

दसकौं अघिको यो भनाई, यो घटना आजकल फेरी चर्चाको विषय बनेको छ नेपालमा । भरखरैको चर्चा भने अचम्मसित एकजना दिनानाथ शर्मा नामको राजनैतिक व्यक्तिको भाषणमार्फत फैलिंदै छ। उनी ‘काठमाडौका नेवारले मधेशीलाई मान्छे गन्दैनन्, मनू मखु मर्स्या भन्छन्’ भन्दै भाषण गर्दै हिंडिरहेछन्। उनलाई यस तरिकाले आफ्नो सस्तो ख्याति कमाउने तथा मधेशका जनता र नेवार जनता बीच तनाव, वैमनश्यता ल्याउने धोको किन भयो उनैले जानून्। यस पुरानो भनाई बुझ्ने जान्नेले सही जानकारी दिलाउन आवश्यक ठानी यो छोटो लेख अगाडि  राख्दैछु। मधेशका हाम्रा दाजुभाई दिदीबहिनीहरु र नेवार दाजुभाई दिदीबहिनीहरु बीच यस्ता सतही ज्ञान भएका व्यक्तिहरु मार्फत नचाहिँदो तनाव र वैमनश्यता रहिरहेको भए, भरोसा छ, यस लेखले पक्कै समाधान गर्नेछ।

नौलो नभए पनि यो विषय धेरै अघिदेखि  हाम्रो देशका तराईवासी अथवा मधेशवासीहरुको मनमा अझै ताजै रहेको हुनसक्छ।  हो ‘मनू मखु मनू मखु मर्स्या’ भन्ने नेवार वाक्यांश आजसम्म कसैले गहन किसिमले हेरेको, कुन सन्दर्भमा यो भनाई कसको मुखबाट कसरी निस्केको भन्ने गहिराईमा हेर्ने व्यक्ति फेला परे जस्तो लागेन । यस विषयलाई सवैले हल्का किसिमले लिने, मधेशवासीलाई नेवार समूहले हेपेको अर्थमा लिने नै गरेको मात्रै सुन्नमा आउँछ। जानेसुनेका पुराना व्यक्तिहरुले पनि यस कुरालाई ध्यान दिनु नपर्ने एउटा अनावश्यक विषयजस्तो गरी हाँस्दै टारे वा अनसुनी गर्दै वा बिर्सिंदै गरे।  देशमा ठुल्ठुलो समस्या तथा लडाई, राजनैतिक गतिविधिका कुरा अगाडि त हो पनि यो कुनै ठुलो कुरा हुँदै होइन। तर पनि यस विषयलाई यत्तिकै छोडी दिने हो भने, हाम्रा मधेशी दाजुभाई दिदीबहिनीहरुलाई संधै चित्त दुखी नै रहनेछ साथै नेवार समुदायलाई पनि कहिल्यै न्याय हुँदैन, आत्मग्लानि मात्रै भईरहनेछ।  दसकौंदेखि मलाई यस विषय कसरी कहाँ कुन संचार माध्यम मार्फत सत्य कुरा अगाडी ल्याउने भन्ने कुराले पिरोली रहेथ्यो। आज नेवाः टाइम्स मार्फत सबै समक्ष ल्याउन पाउँदा हर्षित हुनु स्वाभाविक हो।

शुरुमा अलिकति सान्दर्भिक भूमिका 

नेवारहरुको बोलीचालीमा एउटा अनौठो किसिमको आफ्नो पारा छ।  त्यसमा विभिन्न शव्दहरु आफ्नै किसिमले अर्थ लगाउने तथा छोट्याउने गरिन्छ।  हुन त नेपालका अरु भाषाहरुमा पनि आफ्नोपनले भनिने, बोलिने शव्दहरु नभएका होइनन्।  यी नेवारहरुको छोट्याउने प्रयोगहरु धेरै जसो नेवारहरुलाई मात्र थाह हुनसक्छ, भन्नाले अरु भाषा बोल्नेहरुले नसुनेको, थाह नपाएको, सुने पनि अर्थ नबुझेको, वा त्यतातिर ध्यान नदिएको पनि हुनसंक्छ।  यी छोट्याईएका शब्दहरु अनौठो सुनिए तापनि यिनका प्रयोग कुनै हेय दृष्टिले गरिएका भने पक्कै होइनन् । खासगरी यस्ता शब्दहरु मान्छेका नामहरुमा प्रयोगमा आएकाछन्।  उदाहरणका लागि त्यस्ता केहि शब्दहरु तल लेखे बमोजिम छन्

व्यक्तिको नाम नेवारले छोट्याउदा सुनिने नाम
हर्ष नारायण हक नारां
अष्ट नारायण अस नारां
ललित मान लत्मां
पूर्ण वीर पुन्वी
अनन्त वीर अन्तवी
हर्ष माया हक मै
हेरा रानी हेलानी
सिद्धि प्रभा सिप्रा
दान प्रभा दांप्रा
पूर्ण माया पुन्मै
रत्न माया लतं मै


यसैगरी आफ्ना परिवार रिस्तेदारलाई बोलाउँदा पनि छोट्याउने चलन छ।  उदाहरणका लागि,

‘वसन्त काका’ लाई वसं का
‘सरस्वति मा’ लाई ससु मा
‘कृष्ण पाजु’ लाई
किसं पाउ
‘सुमित्रा तता’ लाई सुमे ता
‘सुन्दरी पीभत’ लाई सुन्भोत वा सुन्पीत
‘सुन्दरी तताजु’ लाई सुन्तास्जु

यस्तै, देव देवीलाई पनि भिन्द्यः (भीमसेन देवता), महाद्यः (महा देवता), महांकाद्य (महाकाल देवता), आदि भन्ने चलन छ।  यस्ता धेरै उदाहरण छन्।  यसबारे अलि पछि विस्तृत गरी लेखुंला।  यसै सन्दर्भमा धेरैलाई शायद थाह नहोला कि नेवार भाषामा तिब्बतलाई ‘सँ दे’ र तिब्बतीहरुलाई  ‘सँमि’ (पुलिंग) र ‘सँमिनी’ (स्त्रिलिंग) भनिन्छ।  अनि साधारणतया लिङ् नछुट्याईकन भन्नु पर्दा ‘सँय’ मात्र पनि भनिन्छ। यसैगरी नेपाली भाषा (खस भाषा) बोल्नेलाई ‘खँय्’ भन्ने पनि गरिन्छ। यी दुबै अपहेलित शब्दहरु होइनन्।  नेवारहरुको प्रचलित शब्दहरु मात्रै हुन, एक प्रकारले अंग्रेजीमा क्बिलन भने जस्तै हुन्। अनि पर्वतका मान्छेले बोल्ने भाषा भएको हुनाले नेपाली भाषा लाई ‘पर्वते कुरा’ अथवा ‘पर्वते भाय्’ भन्नुहुन्थ्यो हाम्रा पूर्वजहरु तथा अग्रजहरु। 

धेरैजसोलाई थाह भएकै कुरा हो कि जुनबेला काठमाडौँ उपत्यका नेवारहरु मात्रै बस्ने थलो थियो त्यो बेला उपत्यकाभित्र तीन साना देशहरु थिए येंदे (कान्तिपुर), यल दे (ललितपुर), ख्वप दे (भक्तपुर)। यी तीन देशका देशवासीलाई नेवारहरु येंवासीलाई ‘येंमि’, यलवासीलाई ‘यले’, ख्वपवासीलाई ‘ख्वपे’ भन्थे र आजसम्म यी तीनै शहरवासीलाई उही येंमी, यले, ख्वपे नामले छुटाइन्छ, बोलाइन्छ नेवार भाषामा अर्थात नेपाल भाषामा। हाम्रा बाजेबराजुको पालामा जब मधेशका मान्छेहरु काठमाडौँ पस्न थाले, समग्र काठमाडौँवासीले उनीहरुलाई ‘मधेशिया’ भन्न थाले।  त्यसमा कुनै आपत्ति थिएन, मधेशका वासिन्दा मधेशिया, जस्तो कि भोटका भोटिया, पूर्वका वासिन्दा पूर्वेली, गोर्खा का वासिन्दा गोर्खाली। मधेशका मान्छेहरुले आपत्ति र अपहेलित त्यतिबेला जनाए जब नेवारहरुले  ‘मधेशिया’ लाई नेवार पारामा ‘मर्स्या’ भन्न थाले। माथि उल्लेख गरे जस्तै ‘मर्स्या’ कुनै अपहेलित शब्द नभई नेवारको आफ्नो पाराको बोलि मात्रै हो, छोट्याउने चलन मात्रै हो। यो कुरा मधेशिया दाजुभाई दिदीबहिनीलाई सम्झाई दिने आज सम्म पनि शायद कोहि भएनन्। 

एकछिन ‘मनू मखु मनू मखु मर्स्या’ घटना तर्फ हेरौं ।

मलाई याद छ म सानो छँदा काठमाडौँको भेडासिंघ (नेपाल भाषामा ‘भ्याःचा द्यः) टोलमा मधेशका कपास व्यापारीहरुका पसलहरु थिए, अझै पनि छन् होलान्। अनि पसलको चौकमा मधेशकै दाजुहरु कपासको डसना, सिरक, तकिया सिउँथे साथै पुरानो डसना वा तकिया उधारेर धागोको धनुष जस्तो (तान जस्तो) वस्तुले (औजारले) कपास मसीनो पार्दै झन्डै नया जस्तै बनाउन सिपालु थिए उनीहरु। बेलाबखत मेरो आमाले मलाई कपास किन्न पठाउनु हुन्थ्यो। कहिले मधिशी दाजुलाई घरमा बोलाई ल्याउन अर्हाउनु हुन्थ्यो, कहिले सिरक सिउन त कहिले पुरानो डस्ना नया बनाउन।  ती दिनहरु यस्ता पनि थिए कि यी मधेशी दाईहरु टोलटोलमा कपास मसीनो पार्ने औजार लिएर काम खोज्न जानुहुन्थ्यो। त्यही धनुषजस्तो औजारले झंकार ध्वनि निकाल्दै ‘सिरक, डसना सिउनु पर्छ हजुर, पुरानो डस्ना नया बनाउन पर्छ हजुर ?’  भन्दै डुल्नु हुन्थ्यो । चाहिनेले आफ्नो छिंडीमा वा बार्दालीमा वा चौकमा बोलाई काम लिन्थे।  हेलाको मनसाय त कहीं कतै आभाषसम्म पनि पक्कै हुन्थेन।

मैले सुनेअनुसार, त्यसै बखत, आजभन्दा करीब पांच छ दशक अघितिर, एउटा घटना घटेछ हाम्रो परिवारले चिनेको काठमाडौँको एक नेवार परिवारको घरमा। घटना साधारण नै थियो नेवार परिवारको लागि। गैर नेवारको लागि भने त्यो घटना, त्यो दिन एक चर्चाको विषय हुनगयो। त्यति मात्र नभई नेवारलाई अमानवीय,अर्कालाई मान्छे नै नगन्ने समुहको रुपमा प्रस्तूत गर्न सम्म पनि कोहीकोही जमातहरू सफल भए।  एक प्रकारले त्यो घटना अवीस्मरणीय नै हुनपुग्यो। हुन सक्छ यस्तो घटना त्यसअघि पनि घटीसकेको थियो तर कसैको कानसम्म शायद परेन होला। घटना यसरी घटेको रहेछ।  त्यस नेवार घरकी एउटी केटी बाहिर खेल्न निस्केकी रहिछे। छिंडीमा मधेशिया दाई ‘डसना सिउनु पर्छ हजुररु’ भन्दै घरधनीहरुलाई आवाज दिईरहेको रहेछ। सानी नानीले माथि दिदी चाहिंलाई बोलाएर ‘यः तता, सिलः सुइपिं वल, माँयात धयाब्यु (ए दिदी, सिरक सिउने आयो, आमालाई भन्दिनु) भनीछे छिंडीबाटै। दिदी चाहिंले माटन  कोठाबाट माथिलो तल्लामा आमालाई बोलाइ ‘य माँ, कुन्हे सु वल धाल थें (ए आमा, तल कोही आयो भने जस्तो छ) भनेछिन्। आमा चाहिंले कुरा प्रष्ट नबुझीकन भित्र कोठामा काम गरिरहेको लोग्नेलाई ‘अये मिजं, कुने मनू वः दु धाल (ए श्रीमान, तल पाहुना आएछ  रे’ भनेछन्। छिंडीबाट कान्छी छोरीले आमाको कुरा सुने पछि भर्याङ्ग मुन्तिरबाट माथि आमालाई ‘य: माँ, मनू मखु मनू मखु, मर्स्या )ए आमा, पाहुना आएको होइन, पाहुना आएको होइन, मधेशिया) भनेछिन्।

संगै घरको कुन चाहिं ‘बढी जान्ने’ मान्छेले यो सुनेछन् र अर्थ नै नबुझ्दै अरुलाई भन्दै हिंडेछन् ‘काठमाडौका नेवारले मधेशीलाई मान्छे गन्दैनन्, मनू मखु मनू मखु मर्स्या भन्दारहेछन्’ र यहींबाट आगो जस्तै फैलिन थाल्यो ‘मनू मखु मनू मखु, मर्स्या।’

यहाँ निर, दुइवटा कुराहरु सवैले भुझ्नु जरुरी छ।  एक त, नेपाल भाषामा ‘मनू’ को अर्थ ‘मान्छे’ भएता पनि ‘मनू वः दु’ भने पछि, त्यो वाक्यांश वा वाक्य ‘पाहुना आएछ’ हुन जान्छ।  यस्ता प्रयोगहरु नेवारबाहेक अरुलाई थाह नै नहुन सक्छ वा भए पनि थोरैलाई थाह हुन्छ होला। म सानो छँदा, बिहान बिहान मेरो बाकहाँ मान्छे भेट्न आइरहन्थे। म संधै माथि बा कहाँ गएर ‘य बा, कुने मनू वः दु’ (ए बा, तल पाहुना आएछ बालाई भेट्न) भन्न जान्थें।  हुनत नेपाली भाषामा पनि त कोहि नचिन्ने पाहुना आउँदा मान्छे आएछ नभन्ने होइन। अर्को कुरा त माथि उल्लेख गरेजस्तै मधेशियालाई त्यस बच्चीको मुखबाट नेवार पारामा ’मर्स्या’ भन्न पुगेको हो।  नत्र आजकलका मान्छेहरुले ‘ए मर्स्या, ए मर्स्या तरकारी यता ल्याउ’ भने जस्तो त्यो ताका उहाँहरुलाई  ‘ए मर्स्या’ भनी बोलाउने चलन त थिएन है। तर रमाईलो कुरो त आज दिन कतिसम्म बदली सक्यो भन्दाखेरि, हाम्रा छरछिमेकका बहिनीहरुले बिहान बिहान तरकारी बेच्ने मधेशका दाईहरुलाई ‘ए मर्स्या, ए मर्स्या’ भनी बोलाउँदा पनि उहाँहरु ‘हजूर, हजूर, आउंदैछु’ भन्दै रमाईरमाई घर तल पुग्छन् । उहाँहरुले बुझी सकेछन् ’मर्स्या त हामी भारतवासी वा मधेशवासीलाई काठमाडौका नेवारले छोटो पारामा बोलाउने नाम पो हो।’

यसरी रमाइलो कुरा गर्दै जाँदा ‘मनू वः दु’ र ‘मर्स्या’ मात्र हैन अरु कतिपय नेवारले बोलिने, भनिने कुरा अलिकति विस्तृत गर्नु सान्दर्भिक होला। एउटा उदाहरण दिउँ एक पुरानो नेवार चाडको। चाडको नाम हो ‘माँया ख्वाः स्वये’ (स्मरणीय रहोस, बौया ख्वाः स्वये’ पनि छ)। यस नाममा पनि ‘ख्वाः’ को अर्थ ‘मुख’ तथा ‘स्वये’ को अर्थ ‘हेर्ने’ भएता पनि यो चाडको अर्थमा ‘माँया ख्वाः स्वये’ को अर्थ आमाको मुख हेर्ने होइन।  ‘माँया ख्वाः स्वये’ अर्थात् ‘माँया ख्वाः स्वः वने’ को अर्थ हो, धेरै दिनदेखि आमालाई भेट्न,  हेरविचार गर्न नपाउने छोरीहरु माइतमा आमालाई कोसेली, मिठाई, फलफुल, दहि, माछा मासु, बारा, रक्सि, सगुन लिई वर्षको एक दिन भए पनि हेर्न, भेट्न, भलाकुसारी गर्न जाने, आदर गर्न जाने।  हुन त घरमै भएका छोराछोरीले पनि सुकुन्दा बाली आमालाई सगुन, कोसेली, मिठाई फलफुल दिई ढोगी आदर गर्ने भए पनि यो चाड विशेष गरी विवाहित छोरीहरु तथा भागबण्डा लिई अन्त बसिसकेका छोराहरु मध्येनजर राखी मनाइंदै आइरहेको चाड हो।  नेवारहरुको लागि यी ‘माँया ख्वाः स्वये’  ‘बौया ख्वाः स्वये’ दिनहरु ठूला चाड नै हुन्, सवै छोराछोरीहरु आमा बुबाको घरमा भेला हुने दिन पनि हो। यस ‘माँया ख्वाः स्वये’  ‘बौया ख्वास् स्वये’ को साँचो अर्थ नजानी यसलाई नेपाली भाषामा अनुवाद गर्दा ‘आमाको मुख हेर्ने’ र ‘बाबुको मुख हेर्ने’ भनिंदै आएको छ। गैर नेवारले बुझ्नु पर्ने कुरा त यहाँ ‘ख्वाः स्वये’ को अर्थ साधारण अनुवाद ‘मुख हेर्ने’ पक्कै होइन।  दसकौंअघि भर्खर भर्खर भित्ते पात्रो, जेबी पात्रोमा अनुवाद देख्दा हामी नेवारहरु हाँस्थ्यौं। आजकल त त्यस अनुवादको बानी मात्र परेको होइन, सवैलाई सजिलो हुने गरिकन ‘मदर्स दे’ ‘फादर्स दे’ नै भन्न थालेपछि कुरै सिद्दियो । चाड पनि ‘मंकाः (सबैको) हुनगयो।  त्यो पनि राम्रै कुरा हो । राम्रो चलनचल्ती, सिक्न योग्य चाडवाड जति धेरैले मनायो त्यति राम्रो। हुनुपर्ने पनि यही हो कि नेपालका विभिन्न संस्कृतिका समूहहरु यसरी नै एक आपसका सिक्न योग्य संस्कृति, भाषा, कला, पहिरन सिकी मिलीजुली बस्ने।  वहुभाषिक, वहुधार्मिक, वहुसांस्कृतिक नेपालको विशेषता पनि त यहि हो नि।  हुन त धेरै पहिले नै यी दिनहरुमा नेवारले जस्तो चाडको रुपमा नमाने पनि आमाबुबा नहुने काठमाडौँका धेरैजसो बाहुन छेत्रीहरुले तिर्थ स्थलमा गई नुहाउने, दान दिने गर्थे नै।

शव्दहरुको अर्थ, शव्दहरुको प्रयोग, तथा अर्काको रितिरिवाजको मूल्य मान्यता नबुझ्नाले, अझ भनुं बुझ्न नखोज्नाले अनुवाद नमिल्नु त स्वाभाविक कुरा भयो। 'मनू मखु मनू मखु मर्स्या ' को सन्दर्भमा भने भ्रम फैलाउनु र विभाजित नै गर्ने उद्येश्यले कोही व्यक्ति वा जमात लागी परेको देखिन्छ।  कुरा त जान्नेसुन्ने  भनाउँदा व्यक्तिहरुले नै भ्रमलाई सत्य ठहराउनु तथा दुई समूहबीच कलह, वैमनश्यता ल्याउन खोज्नुलाई कसरी परिभाषित गर्ने ? ‘मनू मखु मनू मखु मर्स्या’ भन्ने नेवार वाक्यांशको अर्थ के हो भनी सोधपुछ गर्नु र नबुझ्नेलाई बुझाई दिनु त कता हो कता, नेवार र मधिशे समूहहरुलाई विभाजित मात्रै गर्न खोजिंदैछ। यही सन्दर्भमा कतिपय नेवारहरु पनि त तराईमा बसोबास गर्दै आईरहेका छन। उनीहरुलाई पनि त नेवारहरुले आफ्नो घर घरमा रिस्तेदारहरुलाई ठट्टामा होस् वा साँचो अर्थमा ‘मर्स्या’ ‘मर्स्यानी’ भन्दै आईरहेकै छ । मात्र नेवार बोलि हो, होच्याउन वा विभेद गर्न पक्कै होइन।  अनि ‘मनू मखु’ भनेको अर्थ पनि खालि ‘पाहुना होइन’ भनेको हो भनी बुझ्नु पर्यो।  सन्दर्भ हेरी हेरी ‘मनू मखु’ को विभिन्न अर्थ हुन्छ नेपाल भाषामा। मान्छे मरे पनि ‘मनू मखु’ वा ‘मनू मखुतु भनिन्छ।  पाहुना होइन भन्नलाई पनि ‘मनू मखु’ भनिन्छ।  वा साधारण ‘मान्छे होइन’ भन्नलाई पनि ‘मनू मखु’ नै भनिन्छ।  यस लेखमा व्याख्या गरेको विषयवस्तुमा, सन्दर्भमा भने ‘पाहुना होइन’ अर्थ हुनजान्छ।  नेपाल भाषामा सन्दर्भ मिलाई बोल्नु पर्ने धेरै शव्दहरु छन्। उदाहरण को लागि ‘वा’ शव्दको अर्थ धान पनि हो, दांत पनि हो, झरी (आकाशे पानी) पनि हो, आउ (यता आउ) पनि हो । सन्दर्भ मिलाई यो शव्द को अर्थ निकाल्न नसके, अर्थको अनर्थ हुनजान्छ। नेपालभाषा सिक्ने भए राम्ररी नै सिक्नु पर्यो कि त आधि आधि जानेकाले अर्थको अनर्थ गर्दै नगर्नू। आफ्नो फाइदाको लागि, ख्यातिको लागि आर्कालाई नहोच्याउनू, दुई मिलीचाली बसेका समूहहरुलाई अरु समूह वा व्यक्ति बीचमा आएर भांड़्न नखोज्नू।

आशा छ यस हरफसम्म आइपुग्दा यहाँहरुले नेवारहरुले मदेश समुदायका व्यक्तिहरुलाई विभेद गर्न ‘मनू मखु मनू मखु मर्स्या’ भनेको पक्कै होइन भन्ने कुरा बुझ्नुभयो होला। यसको अर्थ सिर्फ ‘पाहुना आएको होइन, पाहुना आएको होइन, सिरक सिउने मधेशिया’ भन्न खोजेको हो त्यस घटना सन्दर्भमा। बुझ्नु पर्ने यत्ति नै हो कि न त नेवारले मधेशियालाई अपमान गर्छन्, न त मधेशियाले नै नेवारलाई अपमान गर्छन् । चाहे जतिसुकै अरुले भ्रम फैलाउन या वैमनश्यता ल्याउन खोजून्। यी दुई समूह बिच न पहिले नै दुर्व्यवहार थियो न अहिले नै छ।  अन्तमा नेपाली सवै मिलेर बस्न सकुन, कोहि एक व्यक्ति, एक सुमूहले अर्को व्यक्ति अर्को समुहलाई भाँड्ने काम नहोस्। यस लेखको तात्पर्य यत्ति नै हो।

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्