समाज » लेख/फीचर/समीक्षा


 

सारंगीमा सीमित रहेन गन्धर्वको जीवन


बसन्त महर्जन
August 7, 2013, Wednesday

एक जमाना थियो, गन्धर्व समुदायलाई सारंगीसँग मात्र जोडेर हेरिन्थ्यो र समुदायको पहिचान भनेकै सारंगी हुन्थ्यो । तर परिवर्तित सामाजिक परिवेशमा यो समुदाय सारंगीबाट टाढिंदैछन् । पढेलेखेका गन्धर्वहरू सारंगी रेट्दै गाउँघरमा गीत गाएर हिड्न छाडेपछि पुराना पुस्ताका गन्धर्वहरू भने आटिन थालेका छन् । उनीहरूको डर वा चिन्ता हो, पुर्खाले थमाइदिएको सारंगीलाई यसरी छाड्दै जाँदा आफ्नो जातीय पहिचान नै नरहने त होइन - परम्पराका कट्टर हिमायतीहरू यी सबैको दोष शिक्षा र आधुनिकतालाई दिन्छन् भने नयाँ पुस्ता त्यही परम्परामाथि प्रश्न गर्ने क्षमता राख्ने भएको छ ।

तीन दशक अघिसम्म कुरा अर्कै थियो । प्रत्येक गन्धर्वको घरमा सारंगी हुन्थ्यो र गाउँघरमा सारंगी बजाइन्थ्यो । सारंगीको धून र गन्धर्वको गायनले कसलाई मुग्ध पार्दैनन् र ? सयौं वर्षघिदेखि तत्कालिन समाजको पीर मर्का र रमाइलोलाई सारंगीले साँगीतिक अभिव्यक्ति दिएको थियो । भन्दा हुन्छ, गाउँलेहरूको अभिव्यक्तिको एउटा सशक्त माध्यम सारंगी पनि थियो । सारंगी बजाउँदै र गाउँदै हिड्नेहरूको छुट्टै पहिचान थियो, गन्धर्व वा गाइने । समाजको संरचनामा गन्धर्व समुदाय अन्य काममा सरिक हुँदैनथ्यो । सारंगी रेटेर गीत गाएबापत गाउँघरमा पारिश्रमिकको रुपमा धानबाली दिइन्थ्यो र त्यसैबाट गुजारा चल्थ्यो । कसको आम्दानी कति हुन्थ्यो भन्ने प्रश्नको जवाफ उसले कति राम्रोसँग सारंगी रेटेर सँगै गीत गाउन सक्छ भन्ने कुरामा निर्भर हुन्थ्यो । यसै भएर होला, उत्ति बेला सारंगी रेट्न नजान्नेलाई छोरी नै नदिइने परम्परा थियो ।

पोखरा बाटुलेचौरका कर्णबहादुर गन्धर्व सुनाउँछन्- मेरो बिहे हुने बेलासम्म पनि मलाई सारंगी बजाउन आउँदैन थियो । सिक्ने उमेरमा सिकिएन र बिहे गर्ने उमेरमा पनि बरालिँदै हिँडियो र पछि सारंगी बजाउन नआउँदा आपतै परेको थियो ।

हुन त कर्णबहादुर रेडियो नेपालका चर्चित गायक कलाकार झलकमान गन्धर्वका छोरा हुन् । जागीरको सिलसिलामा बाबु काठमाण्डौं बस्दा गाउँमा छोरालाई सारंगी बजाउन नआएको हुन सक्छ किनभने यस्तो कला घरमा बाबु बाजेबाट नै सिकाइने प्रचलन हुन्थ्यो । यो समुदायमा मामाकी छोरीसँग बिहे गर्ने अधिकार नै हुन्थ्यो । तर भान्जालाई सारंगी बजाउन नै आउँदैन भनेर मामा पनि असाध्यै चिन्तित भएका थिए जुन कर्णबहादुर आफै सो कुरा सुनाउँछन् । उनी थप्छन् - मामाले भनेपछि भैरहवामा गएँ र त्यहींका गन्धर्वहरूबाट सारंगी सिकेर आएपछि मामाले छोरी दिनु भयो र मेरो हुन सक्यो । यो २०१६ सालतिरको कुरा हो ।

तर उनै कर्णबहादुरका छोरा दिनेश गायकलाई पनि सारंगी बजाउन आउँदैन । बिहे भैनसकेका उनलाई बाबुलाई जस्तो चिन्ता पनि छैन । गाउन र बजाउन नजान्नेलाई छोरी नदिइने कुरा अब गन्धर्व समुदायमा एकादेशको कथाजस्तै भैसकेको छ । दिनेश भन्छन्- सँधैं उही पाराले कहाँ चल्छ र ? अलि अलि परिवर्तन त हुनु नै पर्‍यो नि ।

परिवर्तन चाहने भएकै कारण सायद दिनेशले बाबुको थर गन्धर्व भए पनि उनी भने आफ्नो थर 'गायक' भन्न रुचाउँछन् । आफ्नो समुदायको विकास कार्यमा संस्थागत कार्य गर्न गठित नेपाल गन्धर्व समुदाय विकास केन्द्रका उनी उपाध्यक्ष पनि हुन् । सोही संस्थाका अध्यक्ष खड्कबहादुर पनि आफ्नो थरको रुपमा नाम पछाडि गायक नै प्रयोग गर्छन् । वास्तवमा यो नयाँ प्रयोग हो र गन्धर्वभन्दा अन्य समुदायले हेप्लान् भनेर यसरी थर परिवर्तन गर्न रूचाएको बुझिन्छ । कोही कोही भने नेपाली शब्द प्रयोग गर्दछन् । गन्धर्व शब्दले यो समुदायलाई जुन प्राचीनता दर्शाइन्छ त्यो गायक र नेपाली शब्दमा पटक्कै देखिन्न । आधुनिक हुनलाई प्राचीनता वा ऐतिहासिकता संकेत गर्ने जातिको नाम नै परिवर्तन गर्नु आवश्यक छ र भन्ने प्रश्न यहाँ सहजै उठ्ने गर्छ, जुन विचारणीय कुरा हो ।

आफ्नो परम्परागत बिंडो नयाँ पुस्ताले नथामेकोमा चित्त दुखाएका पुराना पुस्ताका गन्धर्वहरूले यसको दोष शिक्षालाई दिन्छन्, जुन सही पनि हो । समाजमा बाल बच्चालाई जसैभए पनि पढाउनु पर्छ र शिक्षित पार्नु पर्छ भनेर चेतना बढेपछि छोरारूहरूलाई स्कूल भर्ना गर्दिंदा एक त सारंगी सिकाउने समय नै पाइएन भने अर्को सिकेकाहरूले पनि पछि सारंगी बजाएर गाउँघरमा गीत गाउँदै हिड्न मन गरेनन् । नयाँ पुस्ता भन्छन्- समाजमा हाम्रो समुदायलाई अन्य समुदायले हेप्नुको कारण गीत गाउँदै माग्दै हिँड्नाले हो । समाजमा जुन काम गर्दा हेपिनु पर्छ, त्यही काम किन गर्ने - अब पनि त्यसरी सारंगी बजाउँदै माग्दै खान हुँदैन भन्छौं हामी ।

 नयाँ पुस्तका गन्धर्वहरू सारंगी छाडेर अन्य पेशातिर लागेका छन् । सारंगी नै बजाउन मन पराउनेहरूले पनि क्षेत्र परिवर्तन गरेका छन् । अब यिनीहरू गाउँघरमा होइन पर्यटकीय स्थलका होटेलहरूमा गाउँछन् र राम्रैसँग पारिश्रमिक लिन्छन्, कसैबाट हेपिनु परेको छैन । पोखरामात्र नभई राजधानी काठमाडौंलगायतका संगीतको सुविधा हुने ठूल्ठूला होटेलहरूमा सारंगीले पनि ठाउँ पाएका छन् र यसका लागि गन्धर्व समुदायकै वर्चश्व रहेको छ । यत्ति मात्र नभई सारंगी नै बनाएर पर्यटकहरूलाई बेच्छन् पनि । पर्यटकहरू सारंगीको मीठो झंकार सुनेर मुग्ध मात्र हुँदैनन्, सारंगी बजाउन सिक्न पनि कोशिस गर्छन् । सिक्न नसके पनि नेपाल भ्रमणपछि स्वदेश फर्कँदा नेपाली "सोभिनियर" को रूपमा एउटा सारंगी आफ्नो साथमा लाने पर्यटकहरू पनि थुप्रै रहेका छन् ।

सारंगीलाई नै पेशा बनाउन नचाहने नयाँ पुस्तामा पनि सारंगीप्रति वितृष्णा रहेनछ भन्ने निष्कर्श पोखरा बाटुलेचौरका युवा गन्धर्वहरूका कुरा सुनेपछि निकाल्न सकिन्छ । सारंगी बजाएर हिड्न लाज लाग्यो, पढाइमा लागियो र जागीर खाइयो भन्ने पोखरा उपमहानगरपालिकामा कार्यरत बाटुलेचौरकै भोजबहादुर गायक सारंगीलाई आफ्नो जातिय चिन्हको रुपमा अझ प्रचार प्रसार गर्नु पर्ने मान्यता राख्छन् । उनी नेपाल गन्धर्व समुदाय विकास केन्द्रका सल्लाहकार पनि हुन् र भन्छन्- गन्धर्वको पहिचान सारंगी हो र नयाँ पुस्तालाई सिकाउने तारतम्य मिलाउँदैछौं । गन्धर्वका घरघरमा एउटा सारंगी अनिवार्य गर्नु पनि परेको छ तर त्यो मागी खानलाई भने होइन ।

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्