समाचार || समाज » फोटो फीचर


 

अपमान र थिचोमिचोको अनुभव


July 30, 2013, Tuesday

शब्द/फोटो M बसन्त महर्जन

 गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा गएको बुद्ध पूर्णिमाका दिन मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले प्रमुख अतिथीको आसनबाट सम्बोधन गर्ने क्रममा बुद्धको प्रशंसा गर्दै विश्वशान्ति, धार्मिक सदभाव, आजको आवश्यकता, नेपालको गौरव आदि शब्दहरु खर्चदै थिए तर सोही दिन बुद्ध जयन्ती मनाउन भेला भएका सुर्खेतका सर्वसाधारण बौद्धहरु तथा भिक्षुहरुमाथि हस्तक्षेप गरी दमन गर्दै थिए । त्यो दिन सुर्खेतको लाटी कोइलीस्थित काँक्रेविहारमा बौद्धहरु बुद्ध मूर्ति स्थापना गर्न भेला भएका थिए तर प्रहरी प्रशासन मूर्ति स्थापना गर्न दिने पक्षमा थिएनन् । पछि उक्त बुद्धको मूर्ति प्रहरीहरुले उठाएर हिरासतमा मुढा फाले जस्तै फालेर राख्यो । गौतम बुद्ध समष्ट बौद्धहरुका लागि श्रद्धाका व्यक्तित्व हुन् तर प्रहरी प्रशासनको त्यो रवैयाले बौद्धहरुको चित्त दुख्न पुग्यो ।

 उक्त मूर्ति सोही स्थानमा पुनः स्थापनाका लागि बौद्धहरुले थुप्रै अनुरोध गरे । सुरुमा यो स्थानिय विषय र स्थानिय स्तरमा नै सुल्झाउने सकिने विचारले बौद्धहरुले यस विषयमा चित्त दुखाउने बाहेक त्यत्ति ठूलो विषयवस्तु बनाएका थिएनन् तर कुरा मिल्दै नमिलेपछि हाल यो राष्ट्रिय वहसको विषय बनेको छ । यसले अन्ततः आन्दोलन कै रुप लिन पुग्यो । राष्ट्रिय स्तरका बौद्ध संघसंस्थाहरु मिलेर विभिन्न खालको शान्तिपूर्ण आन्दोलन हुन थाल्यो । आन्दोलनको दोस्रो चरणको अन्तिम दिन देशको प्रमुख प्रशासन केन्द्र सिंहदरवारको घेराउ कार्यक्रम पनि सम्पन्न भयो ।

 सिंहदरवार घेराउ गर्न आएका बौद्धहरुले बोकेको प्लेकार्डबाट एउटा कुरा उजागर भएको छ, नेपालमा धार्मिक सद्भाव र सहिष्णुताको अनुभव बौद्ध धर्मावलम्बीहरुले गर्न पाएका छैनन् । आफूहरु अपमानित हुनु परेको तीतो अनुभव गरिरहेका छन् । यो क्रमले अझ निरन्तरता लिने हो भने भोलिका दिनहर धार्मिक मामलामा जटिल हुँदै जाने निश्चित छ, समयमा नै राज्य पक्ष सचेत हुन जरुरी छ ।

मन्त्रिपरिषदका अध्यक्षलाई आफ्नो कुरा सुनाउन बौद्धहरुले धेरै प्रयास गरेको पाइन्छ । बुझाइएको ज्ञानपत्र बुझेर लिए तर कुरा बुझ्न चाहेनन् । दोस्रो चरणको आन्दोलनमा अन्तिम दिन सिंहदरवार घेराउ कार्यक्रम त घोषित नै थियो । उनले अघिल्लो दिन घेराउ कार्यक्रम नगर्न आव्हान मात्रै गरे । वार्ताका लागि बोलाइएको भनी बालुवाटार पुगेका बौद्ध व्यक्तित्वहरुलाई लागेको थियो अब त समस्या समाधन होला, र भोलिपल्टका घेराउ कार्यक्रम फिर्ता लिनु पर्ला भनेर, तर खाली हात फर्कनु प¥यो । बौद्ध क्षेत्रमा बुद्धको मूर्ति राख्नु नपाइने कस्तो मानसिकता हो ? भन्न त वन क्षेत्रमा मूर्ति राख्न नपाइने भनी प्रशासनले जवाफ दिएको छ तर मूर्ति एउटा मात्रै राख्न नपाइने, वन क्षेत्र मासेर घर टहरा नै हालेर बस्न चाहिं पाइने ताज्जुबको विषय रहेको छ ।

त्यहाँ बुद्धको मूर्ति राख्न नपाइने भनी स्थानिय प्रशासनले मात्रै अडान लिएको भए केही कुरा बुझ्न सकिन्थ्यो तर मूर्ति राख्न नलगाइयोस् भनी प्रशासनलाई दवाव दिने वा प्रभावमा पार्ने काम अन्य धर्म सम्प्रदायकाबाट भयो । बौद्ध क्षेत्रमा अन्य धार्मिक सम्प्रदायको हैकुम चल्ने यो प्रवृत्ति स्थानिय निकायबाट केन्द्रसम्म नै देखियो । यसबाट बुझ्न सकिन्छ, नेपालको राज्यसत्ता भन्नु र उक्त गैर बौद्ध सम्प्रदाय, तात्विक भिन्नता रहेन । धर्म निरपेक्ष मुलुकमा यस्तो स्थिति किन ?

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्