समाज » लेख/फीचर/समीक्षा


 

चरीमायाको कहानी... शिबपुरीदेखि कमाटीपुरसम्म


September 17, 2013, Tuesday

शिवपुरीमा घाँस काट्न सधैं साथीहरू मिलेर जान्थ्यौं । तर त्यो दिन (२०५० चैत्र १५) साथीहरू मलाई छोडेर चाँडै गएछन् र म एक्लै गएँ, भेटिनँ । एक्लै घाँस काट्दै थिएँ । चार पाँच जना मान्छेहरू आए । गाउँका केही मानिसहरूले मलाई केही दिन अगाडिदेखि नै पछ्याईरहेका थिए । तिनै पछ्याउने मानिसहरूले मलाई एक्लै देखेर उक्त दिन पनि पछ्याएको रहेछ, मैले चाल पाईन । जंगलमा घाँस काट्दै गर्दा उनीहरू आएपछि मलाई डर लाग्यो । उनीहरूको हाउभाउ हेर्दा मलाई लाग्यो, उनीहरूले ‘ग्याङ रेप’ गर्नेछन् । कराउँदा पनि सकैले सुन्ने खालको ठाउँ थिएन त्यो । त्यसैले कसैले पनि सुनेनछन्, मैले कराएको ।  लखेट्ने र भाग्ने क्रम झण्डै दुई घण्टा चल्यो । त्यहीँ उनीहरूले मलाई बेहोस बनाएछन् । उनीहरूले भारततिर लग्दा पनि वेहोस बनाएर लगेछन् । गोरखपुर पुगेपछि एकै पटक थाहा भयो, त्यहाँको साइनबोर्ड पढेर । यहाँदेखि लग्दा मलाई के के गरे, के भयो भन्ने कुनै कुरा थाहा पाउँन सकिंन । तर गोरखपुरमा होस खुल्दा मेरो लुगा भने फेरिदिएको रहेछ, मैले घाँस काट्न जाँदा लगाएको लुगामा म थिईंन । त्यहाँवाट कश्मिर लग्ने भनेर बुम्वईको कमाटीपुरको अँधेरीमा पु-याए । 

बम्वईमा खाना खाने ठाउँमा पु-याउँदा म रोएर आँसुको धारा हुँदा पनि कसैले वास्ता गरेन, जबकि त्यहाँ पचास–साठी जनाको ओहोर दोहोर भइरहेको थियो । कसैले केही बोलेनन् पनि । मलाई लग्ने मान्छेले मलाई त्यहीं छाडेर चिठ्ठी पु-याउन जानुछ भनेर गयो । डेढ घण्टापछि एउटी महिलासंग फर्कियो । उसलाई माइजु भन्नुपर्छ भनेर चिनाइ दियो । ट्याक्सी पनि ल्यायो । अगाडिपट्टीको ढोका खोलेर बसौंला जस्तो ग¥यो तर बसेन । त्यहींबाट कता गयो, थाहा भएन । ती महिला पछाडि बसिन् र मलाई पनि बस्न लगाइयो । ढोका खोलेर भाग्नको लागि ट्याक्सीको ढोका खोल्न पनि जानिंन र ट्याक्सीको सिसा फोड्ने आँट पनि आएन । 

ती महिलालाई मेरो वारेमा सबै थाहा थियो । दुःखको दिन गयो भन्दै उनी मलाई मुसार्थिन् । ‘काम छिटो सिक्छौ’ भन्दा कुनै सीप सिकाउन लागेको हो कि भन्ने पनि लाग्यो । ट्याक्सी रोकिएको ठाउँमा ‘वेलकम टु बम्बे सेन्टर’ देखेपछि होस् हवास गयो । प्रौढ कक्षामा जाँदा दिदीबहिनी हराएको, बम्बईमा लगेर बेचेको कुरा गर्थे । यो कुराले अझै डराएँ । पहिला ३ दिन मलाई लुकाएर राखे । त्यहाँ झुण्डिएर मर्ने कोशिश गरें । तर भएन, सकिंन । तेस्रो दिनमा ‘ब्रथल’मा पु¥याए । पुरानोले सम्झाउने कोशिश गरे, त्यहाँ ३० जना थिए, नेपाली पनि । ‘राम्रो दिदी पायौ, ऋण ति¥यौ भने ३–४ वर्षमा नेपाल जान सक्छौ भन्थे उनीहरू । 

पाँचौं दिन ६५–७० वर्षको वूढा म बसेको कोठामा आयो । मैले कुटेर पठाएपछि नराम्रो ठाउँमा बेच्छौं भनेर धम्क्याए । अप्राकृतिक यौन सम्वन्ध राख्ने ठाउँमा बेच्ने कुरा गरे, डर देखाउँन । अर्को दिन ४ जना मान्छे पठाए, भित्रबाट चुकुल लगाएर ‘ग्याङ रेप’ गरे । ६ महिनासम्म भाग्ने कोशिश गरें तर सकिंनँ । त्यहिं नै प्रण गरेें – एक मुठी सास रहेर नेपाल फर्कन सकें भने मलाई बेच्नेलाई छोड्दिन भनेर । त्यतिवेला आफ्नो परिचय लुकाएर काम गर्थें । 

मलाई लैजाँदा १६ वर्षकी थिएँ, रेस्क्यु भएर नेपाल आउँदा १९ वर्षको भएँं । खाना खाँदा खाँदैको अवस्थामा प्रहरीले रेड गरेर हामीलाई मुक्त गरेको कारण जुत्तासम्म पनि लगाउन भ्याइएन । भारत सरकारले त्यहाँबाट रेस्क्यु भएपछि नेपालको सरकारलाई तपाईको चेलीबेटी रेस्क्यु भएको छ भनेर खबर गरे । सबै प्रक्रिया मलाई थाहा छैन । हामीलाई रेस्क्यु गरेर राखिएको सरकारी गृहका सुरक्षाकर्मीहरूले ‘तिमीहरुको सरकारलाई जानकारी दियौ तर तिमीहरुको सरकारले लिन मानिरहेको छैन’ भन्ने खबरले हतास तुल्याएको थियो । 

उद्धार गर्ने क्रममा धेरैजसो नाइट ड्रेसमा थिए । मेरो हालत पनि त्यस्तै थियो । अँधेरीमा हुँदा म बसेको ठाउँ क्रिस्चियनहरुको सिस्टर अर्गनाइजेसनमा एक पटक लुगा ल्याइदिया,े एउटा म्याक्सी । त्यहाँ अनाथ बालबालिकालाई राखेर पढाउने रहेछ । भित्र लाउने पेन्टी ब्रा १ पटक मात्र दिइयो । त्यसमा बस्यौ । सबैको त्यही हालत थियो ।

हामी त्यहाँ ६ महिना पुरा गरेर ७ महिना लागेसम्म सरकारी गृहमा बस्न बाध्य भयौं । जुन ठाउँ जेलजस्तै लाग्थ्यो । फरक के थियो भने कोठीमा यौन शोषण हुन्थ्यो त्यहाँ हुँदैनथ्यो । अरु मौखिक रुपमा गाली गलौज गर्ने प्रहरीले सकेसम्म दुव्र्यवहार गर्न खोज्ने सरकारी गृहमा पनि थियो । हामी बसेको एउटा कोठामा ८० जना भन्दा बढी थियो । वरिपरि फलामको डन्डीको बार थियो । सुत्ने बेलामा पनि त्यो बारबाट, बाहिरबाट पुलिसले जिस्क्याउने गर्दथे । कतिले झ्यालबाट हात छिराएर हातै पनि हाल्ने कोशिश गर्थे । हामी किशोरी थियौं । कति दिदीबहिनीले त उनीहरुले जिस्क्याएकोमा हो मा हो पनि थप्थे । यिनीहरु यस्तै हो भन्ने हिसाबले हेपेर पनि जिस्काएको हो । मन पराएर, किशोरी राम्री छे भनेर कुरा गरेको भन्दा पनि हामीमाथि हेयको दृष्टिको प्रयोग गरेको भन्ने लाग्छ । 

कतिपय केटीहरूको ती सुरक्षाकर्मीसँग राम्रै बोलचाल थियो । उनीहरुले बाहिरबाट बोलाउँथे । पानपराग खाने साथीलाई बाहिरबाट ल्याइदिने पनि गर्दथे सुरक्षाकर्मीहरू । हामी नखानेलाई केही मतलब भएन ।

१९९६ फेबु्रअरी ५ मा हामीलाई कोठीबाट निकाल्यो । १२ तारिखमा छोड्छ रे, कोर्टबाट रिलिज हुन्छ भन्ने खबर आयो । भएन । २५ तारिखको डेट दियो । त्यसपछि पनि ३ महिना लाग्छ भनियो । फर्काउँदा जुलाई १७ र २२ तारिखमा गरी दुई लटमा नेपाल ल्याइएको थियो । त्यसमा म २२ मा नेपाल आएँ । 

त्यो अवधिमा धेरै घटना भएको थियो । खान बस्नलाई त्यही सरकारी गृहमा दिइन्थ्यो । हाम्रोमा मिलाएर खानुपर्छ भन्ने छ, त्यहाँ हुँदैनथ्यो । ठुलो चनाको दाल हुन्थ्यो । विहान दाल दियो भने बेलुका फुलेको २ वटा बम दिइन्थ्यो । त्यतिमैं दिन बित्थ्यो । पछि झन्डै ३ महिना लागेको थियो । त्यो बीचमा म बसेको ठाउँबाट ६० भन्दा बढी दिदिबहिनी भागे । कहाँ गए भन्न सक्दिन तर गेट नाघेर भागे । उनीहरूलाई त्यहीं भित्रका एक दुई जना म्यानेजर सहयोगीले निकालेको रहेछ । आफूले किनेर राखेको कामदार हो भनेर कोठीबाट पनि मानिसहरू लिन आएका रहेछन् । पुलिसको भ्यानमा पनि सँगै आएको थियो । विहानको करीव १० बजेको थियो । उनीहरुको ग्याङले अरु बहिनीलाई पनि लिएर भागे । भागेको दिन पुलिसको अगाडि नै गेट तोडफोड गरिएको थियो । त्यहाँ बस्दा बस्दा नेपाल फर्काउने काम नभएपछि फेरि त्यहाँबाट पनि निस्कन पाइदैन कि भन्ने डरले पनि धेरै भागे । अहिले ती साथीहरु कहाँ पुगे के भए केही जानकारी छैन । 

म सहित २८ जनालाई त्यहाँबाट पुनामा सारियो । अँधेरीमा भएकाहरू अँधेरीमा नै थिए । अझ थप पीडा भयो । पुनामा हावापानी पनि नमिल्ने, भाषा पनि नबुझिने । मुम्बईको सहजता पुनामा थिएन । अंधेरीका सिस्टरको भन्दा फरक व्यवहार थियो त्यहाँ । त्यसले हामीलाई अप्ठ्यारो प¥यो । ३ महिना त्यहाँ बस्नुप¥यो । पुनामा लग्नुभन्दा अगाडि नै नेपालबाट गौरी प्रधान (वर्तमान राष्ट्रिय मानवअधिकार आयोगका सदस्य) ‘बहिनीहरु नआत्तिनुस्, तपाईहरुलाई हामी आफ्नो देशमा फर्काउने कोसिस गर्नेछौं’ भनेर आउनु भएको थियो । त्यो कुरामा त्यति विश्वास थिएन । हामीले गाली पनि ग¥यौ । उहाँलाई तपाइले झुठो बोल्नुभएको होला । हामी तपाईको कुरा कसरी विश्वास गर्ने भनी झगडा पनि ग¥यौं । सरले केही समय हाम्रो कुरा सुन्नुभयो । अनि पछि उहाँले आफ्नो कुरा राख्नुभयो । पछिल्लो समयमा हामीले उहाँलाई भेटेनौं । उहाँसँग कुरा भएपछि तुरुन्तै हामीलाई पुनामा सारिएको थियो । म एकदमै डराएकी थिएँ । यिनीहरुले फेरि के गर्न लागे भनेर । तर पछि नेपाल ल्याइयो । 

पुनाबाट नेपाल ल्याउँदा यहाँको ७ वटा संस्थाहरूले पहल गरे । पुनाबाट यहाँ डाइरेक्ट ल्याइएन, मुम्बई हुँदै ल्याइयो । नेपालमा ल्याउने क्रममा तिमीहरुलाई नेपाल ल्याउँछौ भन्ने जानकारी दिइएन । ल्याउनु अगाडि एउटा कागजमा साइन गराए । के को लागि भनी सोध्दा राम्ररी हेर्न पनि दिएनन् । हाम्रो ल्याप्चे मात्र लियो । एयरपोर्ट ल्याया,े त्यसपछि नेपालमा आइपुग्यो । मुम्बइबाट प्लेनमा चढ्दा नेपाल ल्याउने थाहा थिएन । त्यहाँ सोध्दा पनि भनेनन् । हामी २८ जनासँगै १ जना सानो बच्चा पनि थियो, छोरा २ वर्षको । त्यो साथी भर्खरै ट्राफिकिङमा परेको थियो । ५–६ महिना भयो भन्थिन् ।

यहाँको एयरपोर्टमा आउँदा ठुलो दुर्दशा भयो । मेरो खुटामा चप्पल थिएन । अरुको पनि त्यस्तै हालत थियो । पुनामा जुत्ता लगाउन पाइएको थिएन । न लुगा लगाउन पाएको न कपाल कोर्न । एयरपोर्टबाट ओर्लेको छ, खुटामा चप्पल नहँुदा मान्छे हाँसे । नेपाली समाजको मान्छे न हो । अझ हामीलाई राति ल्याएको थियो । अघिल्लो लटमा त दिउँसो ल्याएको थियो । साथीहरुले एकदमै भीड थियोे, समस्या भयो भन्ने सुनेको थिएँ । हामीलाई करिब १० बजे राति झारेको थियो । तर पनि एयरपोर्टको स्टाफले खिल्ली उडाए । ‘कमाउन गएकाहरुको अनुहार हेर, खुटामा चप्पल पनि छैन’ भने । कतिले म्याक्सीमा आएकाले पनि गिल्ला गरेर हाँसे । 

म नवज्योति केन्द्रमा पुगेको थिए । आएको केही दिनमै बाहिर निस्कें । आफ्नो कुरा समाचारमा दिने, अरु महिलासँग भेट्ने गर्न थालें । संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन थालें । साथीहरु घरै जाने भनेर कराउन थाले तर आफ्नो सामान केही छैन । घर जाने भन्दा अगाडि को को साथीको सामान छुटेको छ भनी नेमलिस्ट अनुसार सामान छुट्याएर राखेका थियौं । दशैं मान्न घर पुग्न धेरै साथीको जमर्को भयो । घर पु¥याइयो पनि । केहीलाई दशैं र तिहारको बीचमा । साथीहरूलाई घर छोड्न म पनि गएँ, संस्थाको दिदीसँगै । उनको घरमा जाँदा परिवारले एकदमै खुशी मान्नुभएको थियो । मेरो छोरीलाई ल्याइ दिनुभयो भनी संस्थाको दिदीलाई धन्यवाद दिनुभयो । 

म पुसमा मात्र घरमा गएँ । दशैंमा गईंन । मेरो समाज अलि फरक छ । १६ वसन्त पार गरेसम्म अनुभव गरेको थिएँ, मेरो समाज कस्तो छ भनेर । मलाई सजिलो हुँदैन भनेर गएको थिइन । एकैचोटि पुसमा जाँदा घरमा पस्न दिँदैनौ भनेर गाउँमा पूरै घेरा लाएर बसे । मलाई स्वीकारेर घरमा राख्यो भने मेरो दाजुभाउजुलाई समाजमा सामेल नगर्ने भनेर दबाब दिए । मैले दाजुभाउजुलाई पर्न सक्ने समस्या बुझेर त्यही दिन म फर्कें । बास पनि बसिनँ । 

घर जानुभन्दा अगाडि नै हो भारतबाट फलोअप गर्न महाराष्ट्रका एक मन्त्री र प्रहरी प्रमुख भेट्न आउनुभएको थियो । मैले उहाँहरूसँग भेट्न दिनु भनी प्रस्ताव राखेको थिएँ सिस्टरसँग । सिस्टरले तिमी भेटेर के गर्छौ भनी सोधे । मैले उहाँसँग भेटेर हामी एउटा माग राख्छौ भने । हामीले त्यहाँ बस्दा हाम्रो सामान, ब्रोथल ओनरको नाम र नम्बर, सामान सबै लिस्ट गरेर राखेका थियौं । यो सामान ल्याइदिन भनी माग गरेपछि सिस्टरले उहाँ आएपछि भेटाइदिनुभयो । मैले सबै साथीको प्रतिनिधित्व गरेर उहाँहरूसँग कुरा राखें । उहाँलाई धन्यवाद दिंदै ‘बाध्यता तुल्याउँदैनौ तर अनुरोध गर्छौ हाम्रो सामान सकेसम्म निकालिदिनू’ भनेर सामानको लिस्ट बुझायौ । कसैको लुगा, पैसा, गहना थियो । 

पुसमा हाम्रो सामान आइपुग्यो । त्यो सामान उताको प्रहरीले निकालेर यताको प्रहरी हेडक्वाटरको जिम्मामा पठाइदिनुभएको रहेछ । मैले सबैको सामान जिम्मा लिएँ । सबै साथी घर गइसकेको थिए । सिस्टर र मैले मिलेर सबैको सामान घरघर पु¥यायौं । मेरो ३५ हजार पैसा थियो पछि प्रहरीसँग १७ सय रुपैयाँ पठाइएको रहेछ ।

हिलारीबाट पुरस्कार पाएपछि...

हिलारीबाट पुरस्कार पाउँदा जीवनमा धेरै परिवर्तन भएको छ । हिजो मान्छेले मलाई चिन्दैनथे । आफूले पनि आफ्नो सर्कल भित्रको डोनर एजेन्सी चिनिन्थ्यो । नेटवर्कभित्रको को–अर्डिनेसनमा काम गरिन्थ्यो । पुरस्कारले देश विदेशको समाजमा परिचित भइयो । मेरो बुझाइमा काम गर्नलाई सजिलो भयो, संस्थागत, व्यक्तिगत हिसाबमा पनि । चुनौती पनि आयो । चिनियो । जनमानसको आस्था पनि बढ्यो । सबैको विश्वासलाई कायम राख्न बढी कसरत गर्नुपर्ने हुन्छ । 

हिलारीले दिएको पुरस्कार सम्मानस्वरुप मात्र थियो । पैसा थिएन । त्यो पुरस्कार भनेको आजको दिनसम्म आउन एउटा बाटो हो । मेरो विचारमा त्यो सम्मान पनि एउटा कोसेढुंगा हो । 

म सार्वजनिक रुपमा चिनिएपछि पहिलाभन्दा समाज सकारात्मक भएको छ । सामाजिक पारिवारिक रुपमा सजिलो भएको छ । मलाई त्यो कुरो गर्व लाग्छ तर अपेक्षापूरा गर्न नसकिएला भन्ने डर लाग्छ । हिजो हेयको दृष्टिले हेर्नेले आज परिस्थिति त्यस्तो रहेछ भनेर लिने गरेका छन् । 

दलाल विरुद्ध चरिमाया

आफैंले भोगेको घटनाबाट निराश कहिल्यै हुनुहुँदैन भन्ने कुरा सिकें, मैले । सुख र दुःख जीवनको पाटो हुन्छ, मैले पनि यी पाटो भोगें । धिक्कार होस् मैले के भोगें भन्नुभन्दा दुर्घटना हो, दुर्घटनाले अन्तिम सासमा पु¥याएको छैन, अझै केही गर्न सकिन्छ, कमी हैन, मेरो दोष छैन, अपराधीले दिएको दुःख भनेको दुर्घटना हो भन्ने सोच त्यतिबेलै आएको थियो ।

गाउँमा गएँ, फर्केर आएपछि  दलाल विरुद्ध गएँ । म आएको ६ महिनापछि ०५३ साल पुस १० मा जिल्ला अदालतमा अपराधीविरुद्ध मुद्दा जाहेरी दिइएको थियो । ०५४ सालमा मुद्दाको फैसला भयो । 

दलालविरुद्ध जाँदा हामीलाई चुनौती छ । पीडित महिला साथमा रहे पनि परिवारलाई समस्यामा पार्ला कि भन्ने डर हुन्छ । महिलालाई सहयोग गरेको कारणले हामीलाई पनि धम्की आउँछ । हामीलाई तिम्रो दाहिने कि देवे्र पाखुरा काटौ वा तिमीलाई अफिस वरिपरि नै कारवाही गरौ कि अदालतमा, बाटोमा मार्ने भन भनी फोनमा धम्की दिन्छन् । बजिरसिंहविरुद्ध केस हामीले नै गरेका हौं । बजिरसिंहको अदालती प्रक्रियाका क्रममा अदालतको परिसरमा हामीलाई अरु दलालले हिर्काउन आएका थिए । बजिरसिंह आफैले पनि अदालत परिसरभित्रै आक्रमण गरेको थियो । म आफै बकपत्रको लागि महिलालाई लिएर जाने गर्दथें । मलाई बेच्ने बजिर सिंह नभएर अरु नै थिए । ऊ अहिले जेलबाट निस्किसक्यो । पछिल्लो समयमा बजिरसिंहले जेलभित्र बसेर नै मविरुद्ध जिल्ला प्रशासनमा उजुरी दिएर परिवारमा उल्टै पुलिसले केरकार गर्न आयो । कत्रो विडम्बना । घरमा धम्की आउँछ । दाजुभाइलाई कतिसम्म धम्की आयो भने मेरो दाईको छोरालाई गाह्रो भयो । हामी बस्ने ठाउँ भन्न मिल्दैन अहिले पनि । थाहा पाए उनीहरुले समस्यामा पार्छन् ।

 बेचविखनविरुद्ध मुद्दा लड्न अरु जस्तो होइन । एकदमै चुनौतीपूर्ण काम हो । महिलालाई मुद्दा दिन हामीले दवाव दिन मिल्दैन । कसैले पनि दलालविरुद्ध जानु भनेको उहाँहरु बेचेर फर्केको हो भनेर टिका लगाएर फर्केको सरह हो । हाम्रो समाज त जो समस्यामा परेको छ उसलाई सहयोग गर्नुभन्दा अपराधीलाई स्यावासी दिन्छ । समस्यामा परेका व्यक्तिलाई छिःछिः दुरदुर गर्छ । हामी दिदीबहिनीले न्याय पाऊन् भनी चाहन्छौ । तर त्यसको विपरित भएपछि दबाब दिन सक्दैनौ । धेरै महिला सानो उमेरमा बेचविखनमा परेको हुन्छ । धेरैको केसमा दलाल चिनेता पनि स्थानीय स्तरको दलाललाई बाटो बनाइदिने मात्र हुन्छ । मेन दलालको नामथर, ठेगाना, पनि थाहा हँुदैन । कसैलाई कारवाहीको दायरामा ल्याउन खोजे त्यहाँको स्थानीय, नातेदार पनि हुन सक्छ । परिवारको दवावले पनि महिलाले मुद्दा हाल्न सक्दैन, सानो उमेरकाहरूबाट दलाल पहिचान हुँदैन । विना पहिचान मनोमानी रुपमा यो अपराधी जस्तो छ भन्न मिलेन । 

शक्ति समूहसँग शुरुका दिन

ग्रामिण महिलाको ६ महिने तालिममा सहभागी भएँ । त्यो तालिमको आधारमा महिला पुनस्र्थापना केन्द्रले १० दिनको आधारभूत स्वास्थ्य तालिम राख्यो । र त्यो तालिमको अन्तिम दिनमा शक्ति समूह गठन भयो । मैले शक्ति समुुह सुरु भएर मात्र होइन, सुरु नगर्दा नै यो यात्रा व्यक्तिगत हिसाबमा पनि सुरु गर्दै थिएँ । पछि संस्था गठन भएपछि तुरुन्तै काम सुरु ग¥यो । अनौपचारिक रुपमा काम गर्दा पूजा मिजार, अरुणा भन्ने रत्न माया तामाङ, अनु भन्ने म थियौं । नेदरल्याण्डको मामाकास भन्ने संस्थामा काम गर्ने लिन्च्युसँग हाम्रो भेटले हामीलाई अगाडि बढ्न आर्थिक सहयोग दिनुभयो, ५ लाख रुपैयाँ । अनौपचारिक रुपमा काम गर्न, पैसा ओरेकको रहोबरमा रहेर त्यो काम सुरु ग¥यौ । २०५४ सालमा संस्थाको रुप नलिँदादेखि नै हामीले काम शुरु ग¥यौं । ब्रोसर तयार गर्ने, आवश्यक नीतिनियम, विधान, नियमावली सबै बनाउने काम ग¥यौ । हामी समुहको रुपले मात्र काम गरेर हाम्रो स्थायीत्व हुँदैन, पहिचान बन्दैन । त्यसले गर्दा संस्थागत रुपमा संस्था दर्ता गर्नुपर्छै भनी डा. मीना पौडेल लगायत सेभ द चिल्डे«नका सीता घिमिरे, सिविनका गौरी मल्ल, सन्ध्या श्रेष्ठ, सिन्धुपाल्चोक, महिला निर्भरता केन्द्रकी भगवती नेपालले धेरै सहयोग गरे । डा. रेणु राजभण्डारीको सहयोगमा शक्ति समुह गठन भएको हो । ओरेकको अफिसभित्रको एउटा सानो कोठामा शक्ति समूह बसेको थियो । ०५६।५७ मा शक्ति समुह दर्ता भयो । त्यो समयमा म गाउँमा थिएँ । कार्यसमितिको साधारण सदस्यमा थिएँ । नागरिकता भएकाहरु कार्यसमितिको मुख्य पदमा बसे ।

प्रस्तुतिः अमिका राजथला

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्