समाज » अन्तर्वार्ता


 

बालिका विवाहले जीवन बिग्रिएको देखें : डा. रिमा नन्दा


July 4, 2013, Thursday

भारतीय नागरिक डा. रिमा नन्दा बालिका विवाहविरुद्ध काम गर्दै आएको अन्तर्राष्ट्रिय सञ्जाल ‘गल्र्स नट ब्राइड’–(जिएनवी, बालिका दुलही हैनन्)मा सक्रिय छिन् । बालिका, महिला तथा युवा सशक्तिकरणका लागि विगत २५ वर्षदेखि कार्यरत डा. रिमा दि करुणा फण्डकी वरिष्ठ सल्लाहकार हुन् । बालिका विवाहविरुद्ध नेपाल, पाकिस्तान, भारत, बंगलादेशलगायत दक्षिण एसियामा बालविवाहलाई रोक्न थुपै्र संघसंस्थाहरुसँग जिएनबी (गल्र्स नट ब्राइड) ले सहकार्य गर्दै आएको छ । हालै काठमाडौंमा भएको एक कार्यक्रममा सहभागी हुन आएकी डा.रिमासँग हसना म्यागेजिनका लागि अमिका राजथलाद्वारा गरिएको कुराकानी :  

बालविवाहको क्षेत्रमा तपाई कसरी लाग्नुभयो ? 

मैले सामाजिक क्षेत्रमा काम गर्न थालेको २५ वर्ष हुन लाग्यो । २५ वर्षको दौरानमा मैले भारतबाट बाहिर रहेर थुपै्र संघसंस्थासँग काम गरें । कुनै पनि देशमा बालिका र महिलाको अवस्था कस्तो छ, महिलाको अधिकार सुरक्षित भयो-भएन मैले सधैं ध्यान दिइरहेको छु । अफ्रिका, एसिया जहाँ पनि जान्छु मलाई लाग्छ बालिका र महिलाको अवस्थाका विषयमा धेरै सुधार आइसक्यो । तर हुनु पर्ने जति भएको छैन । साउथ एसियाका देशको संस्कृतिको कुरा गर्दा विवाहपछि एउटा महिलाको अवस्था परिवर्तन हुन्छ । यसले गर्दा उसले पढाइ छोड्छे, घरमा बस्छे । उनको आफ्नै इच्छा पूरा हुन सक्दैन । ऊ कम उमेरमा आमा बन्छे । यसले उनको जीवनमा धेरै परिवर्तन आउँछ । त्यसैले बालविवाहका क्षेत्रमा  काम गर्ने मेरो ‘इन्ट्रेस्ट’ हुन गयो । 

बालविवाहसँग तपाईको आफ्नै अनुभव पनि जोडिएको छ कि ?

मेरो ‘पर्सनल इन्ट्रेस्ट’ यसकारण पनि छ, किनकी मेरो परिवारमा मेरो बुवाको हजुरआमाको पाँच दिदीबहिनीमध्ये चार जनाको ९ देखि ११ वर्षको बीचमा विवाह भएको थियो । चारै जना १२-१३ वर्षमा विधवा भए । चारै बहिनी ८०-९० वर्षसम्म बाँचे । उनीहरुको पुनः विवाह भएन । उनीहरुको दुःखलाई मैले धेरै महसुस गरें । बालविवाह र सामाजिक नियमको कारणले कसैको जीवन बिग्रिएको आफैंले देखें । उहाँहरुले जिन्दगीभर एउटा किसिमको विभेद महसुस गर्नुभयो । त्यसैले मलाई बालविवाह गलत लाग्यो ।

कति समुदायमा बालविवाहको कारणले महिलाको पाठेघर खराब भएर जीवन नै बिग्रिएको मैले देखेकी छु । त्यो अवस्थामा राष्ट्रका लागि महिलाको योगदान बन्द हुन पुग्छ । यदि महिलालाई पनि पुरुषलाई जतिकै शिक्षा र रोजगारीको अवसर प्रदान गरिए समस्या आफैं हट्छ ।

‘गल्र्स नट ब्राइड’ नेटवर्कले कस्तो काम गरिरहेको छ ?

धेरै राम्रो काम गरिरहेको छ । अहिले यस नेटवर्कको नेपालमा भइरहेको काम हेर्न म आएकी हुँ । म धेरै खुशी छु । नेपालले धेरै गर्व गर्नुपर्छ किनकी जिएनबीको नेटवर्कमा नेपाल पनि छ र नेपालमा पनि नेटवर्क बनिसक्यो । यो एकदमै ठुलो उपलब्धि हो । धेरै देशमा भएको नेटवर्क बनिसकेको छैन । नेपालले राम्रो उपलव्धी पाएको मैले देखेकी छु ।

काम गर्दा दुःखको अनुभव पनि होला ?

युवासँग काम गर्दा सबैभन्दा बढी चुनौती आउँछ । हामी भुल्छौं कि उनीहरु युवा हुन् भनेर । उनीहरु धेरै जिम्मेवारीपूर्वक काम गर्छन् तर युवाको ‘मेच्युरिटी लेभल’ त्यति अगाडि हुँदैन । चाँडै विवाह गर्ने संस्कृति, परम्परा भएको गाउँमा जब यो ठूलो जिम्मेवारी उनीहरुलाई दिन्छौं, उनीहरुमाथि पनि धेरै दबाब आउने गर्छ । हामी यसमा धेरै च्यालेन्ज देख्छौं, उनीहरू डराउँछन् या सुस्त हुन्छन् । त्यस गाउँमा जब युवा पछाडि पर्दछन् त्यसको कारणले उनीहरु झनै पछाडि पर्छन् । यो मलाई धेरै खराब लाग्छ । 

जब स्थिति खराब हुन्छ तर तपाईले आफूलाई लिडर मान्नुहुन्छ भने तपाईले आफ्नो टाउको झुकाउनै पर्छ तर पछाडि भने हट्नुहुँदैन । 

परिवर्तन कत्तिको पाउँनुभयो ?

हरेक पिँढीमा महिलाबाट महिला परिवर्तन हुन्छ भने त्यसलाई धेरै जबरदस्त परिवर्तन मानिन्छ । म यसै विषयमा समुदायमा काम गर्छु । ठिकै छ सरकार र नीजि क्षेत्रको आफ्नै भूमिका छ । तर सामाजिक मुद्दा सामाजिक हो । बालविवाहको नियम हामीले नै बनाएका हौं र हामीले नै परिवर्तन गर्नुपर्छ । यसको लागि समुदायलाई शसक्त बनाउनुपर्छ । बाँकी सरकारबाट पनि परिवर्तन आओस् । यत्तिका वर्षमा मैले के देखें भने यो गम्भीर विषयलाई सरकारको जिम्मेवारीमा मात्र छोडिन्छ, त्यसैले समुदायमा परिवर्तन आएन ।

साभार ः हसना म्यागेजिन

 

फोटो फिचर

 
स्तूप दर्शन

स्तूप दर्शन

स्तूप बाैद्ध वासतुकला मात्रै हाेइनन्, दर्शन पनि हुन् । बुद्धभन्दा अगाडि नै समाजमा स्तूप वास्तुकलाकाे अस्तित्व थियाे र बाैद्ध धर्मसँगै याे विश्वव्यापी बन्याे ।

पूरा पढ्नुहोस्
समानताकाे खाेजी

समानताकाे खाेजी

समानताकाे खाेजी जाे कसैकाे गन्तव्य हुन्छ, यसकाे सम्मान गर्नुपर्छ

पूरा पढ्नुहोस्